काबिल सम्वाददाता
वीरगन्ज
घुस लिएको अभियोगमा विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिशेष अदालतको १ नं. इजलासमा परेको भ्रष्टाचार सम्बन्धी मुद्दामा न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले बुधबार (पुस १६ गते) गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नसकिने ठहर गर्दै आदेश दिए पनि पूर्वमन्त्री गुप्ताले भने अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । अडियो, भिडियो र प्रतिवादीहरू बिच भएको फोन संवादको अडियो रेकर्डलाई बिशेष अदालतले भने पहिलो आधारको रूपमा र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनलाई आधार मानेको खुलेको छ ।
अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई अदालतले दोस्रो आधार मानेको पाइएको छ । त्यसै गरी गरिमा विकास बैंकको स्टेटमेन्ट, जहाँ यामकुमारी गुरुङको खातामा रकम जम्मा गरिएको र झिकिएकोलाई अदालतले तेस्रो आधार मानेको संकेत गरेको छ । अर्को आधारका रुपमा फोटोलाई पनि प्रमाणको रूपमा लिएको अदालतको भनाइ छ । मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेला खिचिएका तस्बिरहरू पनि अदालतले प्रमाणको रूपमा लिएको खुलेको छ । अर्को आधारमा भने सह–प्रतिवादी सुजन कुमार तामाङ लगायतले अख्तियारमा दिएको बयानलाई पनि प्रमाणको आधार लिएको अदालतको मिसिलले संकेत गरेको छ ।
प्रकरण थियो यस्तो
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मन्त्री गुप्ता माथि परेको भ्रष्टाचार मुद्दा माथि सुनुवाई गर्दै बिशेषले बुधबार यस्तो आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले पुष्टि गरेका छन् । उनले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भनी अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको थियो । यहि मुद्दामा पूर्वमन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग अख्तियारले दर्ज गरेको छ ।
अख्तियारले गएको असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री श्रेष्ठ समेत मुछिएकी थिइन् । दुई जनाबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान अगाडी बढाएको थियो । मन्त्री गुप्तासँगको उक्त अडिओ संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला’ भनेको सुनिएको समेत थियो ।
कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खुम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारको ७८ लाखको दावी
अख्तियारले उक्त प्रकरणमा घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले मन्त्री गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोगलाई अदालतले पनि आँसिक रुपमा सदर गरेको बुधबारको आदेशले पुष्टि गरेको छ । कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको कुरा बुधबारको आदेशले पनि संकेत गरेको छ ।
पूर्वमन्त्री गुप्तासँगको उक्त अडिओ संवादमा बिचौलियाले ’पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला ।’ भनेको कुरा पनि अडियोमा सार्वजनिक भएको थियो । पूर्वदुई मन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख अधिकारी, घर जग्गा व्यवसायी÷विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खुमबहादुर पुन, यमकुमारी गुरूङ, तुल्सीराम बुढा मगर विरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अन्यको हकमा भने पछि ठहर भए अनुसार गर्दै जाने गरी अहिलेलाई प्रतिवादी गुप्तालाई भने पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेशमा उल्लेख गरिएको छ ।
भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री गुप्ता पूर्पक्षका लागि चलान
प्रतिक्रिया लेख्नुहोस्

