काबिल संवाददाता
वीरगन्ज
वीरगन्ज महानगरपालिका–२, बाईपास रोडमा रहेको दाल उद्योगबाट अवैध रुपमा सुपारी बरामद भएको छ । निशान्त लुनावत (जैन) को दाल फ्याक्ट्रीबाट करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको सुपारी प्रहरीले बरामद गरेको हो ।
नेपालमा खपत हुनेभन्दा धेरै परिमाणमा सुपारी अवैध रुपमा तस्करी हुँदै आएको व्यापक चर्चाका बीच बिहीबार दुई कन्टेनर सुपारी अवैध रुपमा लोडिङ–अनलोडिङ भइरहेको अवस्थामा प्रहरीले रंगेहात बरामद गरेका जनाएको छ ।
वीरगन्ज भन्सारको बाटो प्रयोग गरी अवैध रुपमा सुपारी भित्र्याईको भन्ने गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा उक्त मूल्य बराबरको सुपारी फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए । बरामद सुपारी ना ७ ख ७४२० नम्बरको टेलर ट्रक भ्क्ऋग् ९०००४७९) र ना ४ ख ६८३२ नम्बरको १४ चक्के टेलर भ्क्ऋग् ९०००६०६) मा एक्सप्रेसवे‘’ लेखिएको कन्टेनरभित्र लोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । एक कन्टेनरबाट सुपारी अनलोड हुँदै गर्दा र अर्को अनलोड गर्न तयारी अवस्थामा रहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीका अनुसार १८ सय बोरा सुपारी बरामद गरिएको र अनुमानित बजार मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको दावी गरिएको छ । बरामद सम्पूर्ण सुपारी निशान्त लुनावत (जैन) को दाल फ्याक्ट्री परिसर भित्र भेटिएको पर्सा प्रहरीले पुष्टि गरेको छ ।
स्थानीयका अनुसार उक्त दाल मिल मूलतः तेजकरण जैन को स्वामित्वमा रहेको र हाल उनका छोरा निशान्तले हेर्दै आएको खुलेको छ । लामो समयदेखि दाल उद्योग बन्द अवस्थामा रहेको र पछिल्लो समय एक्सपोर्ट–इम्पोर्टको नाममा विभिन्न सामान ओसारपसार हुँदै आएको स्थानीयले खुलासा गरे ।

सीमा नाकाको अत्यन्त नजिक नाममात्रको उद्योग खोली अवैध रुपमा गेडागुडी र सुपारीको कारोबार हुँदै आएको वीरगन्जका एक आयातकर्ताले पनि संकेत गरे । उनका अनुसार उक्त जग्गा वीरगन्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगीले बिक्री गरेको पनि उनको कथन छ । यस विषयमा वीरगन्ज उद्योग वाणिज्य संघका एक साधारण सदस्यले नाम नखुलाउने सर्तमा भने, “सुपारी वैध हो वा अवैध भन्ने विषय राजस्व कार्यालयले नै स्पष्ट पार्ला । केही दिनमै सबै तथ्य सार्वजनिक हुन्छ ।”
प्रहरीले उक्त सुपारीसँगै सो सुपारी लोड गरिएका कन्टेनरका दुईजना चालकलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेहरुमा ना ७ ख ७४२० नम्बरको सवारीका चालक, बारा जितपुर सिमरा उपमहानगरपालिका–२० का राम भरोस महरा र ना ४ ख ६८३२ नम्बरको १४ चक्के सवारीका चालक, बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ का रामप्रसाद यादव रहेको पनि प्रहरीले जनाएको छ । बरामद सुपारी, दुवै ट्रक र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया (बारा) मा बुझाइएको पनि पर्सा प्रहरीले बताएको छ ।

