spot_img

ताजा अपडेट

सिर्सिया नदी प्रदूषण प्रकरणः

४६ उद्योगको कारण छठपर्वमा हरेकवर्ष तनाव
तुलसी भण्डारी
वीरगन्ज
वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र भई बग्ने सिर्सिया नदीमा छठपर्व नजिकिएसँगै हरेक वर्ष स्थानीय श्रद्धालु भक्तजन र स्थानीय सरोकारलाई तनाव थपिने गरेको छ । छठपर्वमा नदी तथा तलाउमा पुगी श्रद्धालु भक्तजनले पूजाअर्चना गर्ने प्रचलन छ । तर हजारौंको आस्थाको केन्द्र जोडिने बारा, पर्सा भएर बग्ने सिर्सिया नदीमा ‘नदी सभ्यता’कै फूङ्ग उडेपछि प्रदूषित सिर्सियाको कारण तनाव थपिने गरेको हो ।
प्रदूषण नदीमा छठपर्वका श्रद्धालु भक्तजनले पूजा अर्चना गर्न सक्ने कुरै भएन । यो अवस्था सृजना दुवै जिल्लाका नदी आसपास उद्योग संचालन गर्ने ४६ उद्योग दोषी रहेको २०६७ मंसिरमा नै निक्र्योल भइसकेको थियो । तर ती उद्योगका संचालक अझै अटेर भइदिंदा पर्सा, बाराका स्थानीय सरकारले छठपर्वमा नदीमा प्रदूषण नगरिदिन ती उद्योगीहरुलाई नैतिक दवाव दिन परेको छ । गएको २८ ओजमा वीरगन्ज महानगरपालिकाको सकृयतामा सिर्सिया नदी दीर्गकालीन रुपमा नै प्रदूषण रहित बनाउन पर्सा, बारा दुबै जिल्लाका सरोकारवालाको गहन छलफल यसैको उपज हो ।
सिर्सिया नदी प्रदूषित बनाउने यहाँका ४६ उद्योगले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको कुरा टेर्दैनन् । उद्योग संचालन पूर्वका शर्त पनि यी उद्योगहरुले टेर्ने गरेका छै्रनन् । छठपर्वमा भने पर्सा, बाराका हजारौं मानिस यो नदीमा पुगी छठपर्व गर्ने भएकोले सरोकारवालाले हरेक वर्ष सकारात्मक दवाव सृजना गर्दा दुई दिन सिर्सिया नदीको रुप थोरै उज्यालो हुने गरेको छ ।
पछिल्लो समय वीरगन्ज महानगरपालिकाले ४६ उद्योग माथि कडाइ गरी विभिन्न पाँच उद्योगलाई जनही ३÷३ लाखका दरले जरिवाना गरेर कानूनी दवाव समेत दिएको थियो । तर अटेर ती उद्योगकै गेटमा फोहोर लगी थुपार्दिनेसम्म काम सांकेतिक रुपमा दवावस्वरुप वीरगन्ज महानगरले गरे पनि ती उद्योगमा फोहोर पानी प्रदूषण गर्ने प्लाण्ट (ईटीपी) केही उद्योगले बनाए पनि संचालन भने नगर्ने गरेको पाइएको छ । ती प्लाण्ट पनि संचालन नगरी नियमनकारी निकायको आँखामा छारो हाल्ने काम मात्र गरेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले पनि बताए । यो नदी प्रदूषण नगर्नेे भनी ती उद्योगी व्यवसायीले पटक–पटक लिखित प्रतिवद्धता भने गरेका छन् उनले भने ।
कार्यान्वयन पक्षमा अटेर उद्योग


कार्यान्वयनका पक्षमा भने नेपालका पथभ्रष्ट नेताभन्दा सिर्सिया नदी प्रदूषण गर्ने उद्योगी व्यवसायी गतिला नभएको नदीको पानी हेरेपछि आफै पुष्टि हुने स्थानीयको भनाइ छ । छठपर्वका समयमा भने धार्मिक हिसाबले पनि थोरै सचेत भइदिने र छठ सकिए लगत्तै आफ्नो बानी नछोड्ने उद्योग संचालकलाई यो पटक भने पर्वपछि पनि सकारात्मक कदम चालिदिन नैतिक र कानूदी दुबै दवाव सृजना गर्ने मंगलबार वीरगन्ज महानगरपालिकाको सकृयतामा बसेको छलफलका क्रममा अर्को प्रतिवद्धता भएको छ । पर्सा, बाराका सुरक्षा समितिका नेतृत्वकर्ता, उद्योगी व्यवसायीको छाता संगठनका नेतृत्वकर्ता सहित अटेर उद्योगका केही संचालक तथा व्यवस्थापकका बीच घनिभूत छलफल भई नदी सफा राख्न यो प्रतिवद्धता गरिएको छ ।
प्रतिवद्धतामा अगाडी कार्यान्वयन अटेर
सर्वपक्षीय छलफलमा योभन्दा अगाडी पनि सहभागी उद्योगीहरुले नदीमा दीर्घकालिन प्रदूषण नगर्ने लिखित प्रतिबद्धता गरेका छन् । उद्योग संचालक र उनीहरुका प्रतिनिधिहरुले पटक–पटक वीरगन्ज महानगरपालिकामा आएर पनि गरेको प्रतिवद्धता कार्यान्वयनमा भने लागु नभएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए । तथापि नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रण नभई यस क्षेत्रको मानव सभ्यता माथि नै प्रश्न चिन्ह खडा भएको उनको तर्क छ ।
दीर्घकालिन रुपमा नै सिर्सिया नदी सफा राख्ने उपायबारे मंगलबार पनि पर्सा, बाराका सुरक्षा अंगका प्रमुख सहित बाराको जितपुरसिमरा उपमहानगरपालिका, बाराकै परवानीपुर गाउँपालिका र वीरगन्ज महानगरपालिकाका नेतृत्वकर्ता समेत सहभागी भेलाले मंगलबार पनि प्रतिवद्धता भने गरेको छ ।
उद्योग निर्वाध चल्नु पर्छ, नदी पनि सफा हुनुपर्छ ः सरोकारवाला
उद्योगीहरुले ट्रिटमेन्ट प्लान्ट बनाएर पनि सञ्चालन नगरी फोहोर सोझै नदीमा फाल्ने प्रवृत्तिदेखि आजित भएको महानगरका मेयर सिंहले बताए । ‘उद्योग, कारखाना निर्वाध चल्नुपर्छ, यसमा दुईमत छैन । तर प्रदूषण नियन्त्रण तर्फ पनि सबै जिम्मेवार हुनु पर्नेमा उनको जोड छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पनि सिर्सिया नदीलाई मानव सभ्यताको प्रतीकका रुपमा सबैले संरक्षण गर्नुपर्ने बताए । कानूनी प्रावधानलाई अटेरी गर्ने उद्योगहरूलाई चेतावनी दिँदै उनले आइन्दा फोहोर फाल्ने क्रम नरोकिए उद्योग बन्द गर्ने दिन नआओस् भनी चेतावनी नै दिए । उद्योग संचालन पूर्व वातावरणीय प्रभावका बारे प्रतिवद्धता जनाए अनुसार पालना गरेको भए यो अवस्था नआउने उनको तर्क छ ।
उता बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पनि उद्योग स्थापनाको अनुमति लिने बेलामै प्रदूषण नियन्त्रणको दायित्व स्वीकार गरी उद्योग संचालन गरेकोले मानव समग्र वातावरणलाई नै प्रभाव पार्ने गरी ‘जथाभावी नदीमा प्रदूषित पानी मिसाउनु दण्डनीय कार्य हो,’ उनको पनि तर्क छ ।


मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले पनि उद्योग सञ्चालन र वातावरण संरक्षण सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए । ‘केवल प्रतिबद्धताले मात्र हुँदैन । अब व्यवहारिक रुपमा नै कार्यान्वयनको खाँचो भएको उनको तर्क छ । उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले पनि सबै सरोकारवाला ईमानदार भएर लाग्न पर्नेमा जोड दिए । उद्योगी व्यवसायीको छाता संगठन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि दीर्घकालीन समाधानका लागि एकिकृत ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर अगाडी बढ्नुमा नै सबैको कल्याण हुने तर्क गरे ।
सिमरा वीरगन्ज नदीबाटै डुंगा चलाउनु पर्छ
सहभागीहरु मध्ये अर्का उद्योगी व्यवसायीका नेता जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले यस्ता कार्यक्रममा उद्योगीहरूको उपस्थिति कम हुनु सुधारको लागि चिन्ताको बिषय रहेको तर्क गरे । सिर्सिया नदीलाई सफा र आकर्षक बनाउन पर्यटनसँग जोडेर योजना अघि बढाउनु पर्नेमा सबैले हातेमालो गर्नु पर्ने उनको जोड छ । ‘जितपुरको लालका पुलदेखि वीरगनजसम्म नदी भित्रबाट पाँच वर्षभित्र डुङ्गा चलाउने गरी अब वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले पनि सकारात्मक कार्यमा सबैको हातेमालो हुनुपर्ने बताए ।
जितपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले पनि वीरगंजका मेयर सिंहको नेतृत्वले आफूहरुलाई पनि सहकार्य गरेर अगाडी बढ्न सकारात्मक दवाव मिलेको बताए । बाराको जितपुरसिमरा उपमहानगरपालिका क्षेत्र भित्र नदी आसपासमा ६३ वटा उद्योग पर्छन् । त्यसैगरी बाराकै परवानीपुर गाउँपालिका क्षेत्रभित्रका १२ उद्योग र वीरगन्ज महानगरपालिका क्षेत्रका ४७ उद्योग यो नदीआसपासमा छन् । कुल १ सय २२ उद्योगहरु मध्येकै ४६ उद्योगको फोहोर पानी र ठोस पदार्थले सिर्सिया नदीको दोहोलो काडेको तथ्य सहतमा छ ।
खासमा बाराको नन्दन र गणपति घ्यु उद्योग बाराकै हुलास स्टिल तथा अशोक स्टिल जस्ता ठूला उद्योगहरूले नालाबाट फोहोर पानी सोझै सिर्सिया नदीमा मिसाउने काम भएको अनुगमनमा हरेकपटक गएका वीरगन्ज महानगरपालिका वातावरण महाशाखा इन्जिनियर राकेश साहले बताए ।
पानी प्रशोधनका उपायलाई प्राथमिकता दिने हो भने, प्रदूषण नियन्त्रणका लागि खासै गाह्रो नहुने उनको सुझाव छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ