spot_img

ताजा अपडेट

मधेश प्रदेशको चौथो मुख्यमन्त्री ‘सोनल’

काबिल सम्वाददाता 
जनकपुरधाम
मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । मधेश प्रदेश सभा सदस्य सोनललाई बुधबार साँझ मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
‘मधेश प्रदेश सभा सदस्य सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको मुख्य मन्त्री पदमा नियुक्ति गरेको छु’ प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त सोनललाई दिएको पत्रमा उल्लेख गरिएको छ । अस्थिर राजनीतिको तानाबाना केन्द्रमा मात्र नभई मधेश प्रदेशमा पनि चलिरहेको छ ।
लगत्तै प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तीमा पनि मधेश प्रदेशको मुख्य मन्त्रीमा सोनललाई नियुक्त गरिएको सार्वजनिक गरिएको छ । सो विज्ञप्तीमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको मुख्य मन्त्रीमा सोनललाई नियुक्त गरिएको जनाइएको हो ।
फलतः सत्ताको रापतापमा यो प्रदेशका राजनीतिक दलहरु पनि लालायित हुँदा केन्द्रको हावाले मधेश प्रदेश सरकारमा समेत नेतृत्व फेरबल हुने गरेको छ । जनमत पार्टीबाट निवर्तमान मुख्यमन्त्री रहेका सतिष कुमार सिंहको साथ छोडेका एमाले, कांग्रेस र उनकै पार्टी जनमतले समेत समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।
त्यसैले नयाँ मुख्यमन्त्रीको लागि संविधानतः व्यवस्था भए अनुसार १६८ धाराको उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बुहमत प्राप्त गर्न सक्ने मधेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई आफ्नो मागदावी गर्न बुधबार ४ बजेसम्मको समय प्रदेश प्रमुखको कार्यालयले दिएको थियो ।
सो समयसम्ममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा मधेश प्रदेशका सांसद सोनलले पाँच पार्टीको समर्थन जुटाई प्रदेश प्रमुख भण्डारीसमक्ष माग दावी प्रस्तुत गरेका थिए । प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा एकिकृत समाजवादी (एस) र नेकपा माओवादी केन्द्र गरी ५६ जना प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको पत्र प्रदेश प्रमुखलाई मुख्यमन्त्री सोनलले पेश गरेको पाइएको छ । जसमा जसपा नेपालका १९, लोसपाका ८, जनमतका १३, एसका ७ र माओवादी केन्द्रका ९ प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको सोनलको दावी थियो ।
प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा सोही तथ्यलाई टेक्दै बाराको परवानीपुर स्थायी घर भएका सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीमा सोनललाई नियुक्ति गर्नुपूर्व जनमत पार्टीे र सो पार्टी छोडी जनस्वराज पार्टी खोलेका साविकका सबै जनमतका नेता कार्यकर्ताका बीच निकै रस्साकस्सी भएको र बल प्रयोगको अवस्था समेत सृजना भएको धनुषा प्रहरीले जनाएको छ । निवर्तमान मुख्यमन्त्री सिंह समेत नयाँ जनस्वराज पार्टीतर्फ रहेको कार्यकर्ताले जनाएका छन् ।
यता प्रदेश प्रमुखको कार्यालयले नेपाली सेना सहितको सुरक्षा व्यवस्था तैनाथ गरी मधेश प्रदेशको नयाँ मुख्यमन्त्री सोनललाई नियुक्ति गरेको स्थानीयले दावी गरेका छन् । प्रदेश सभा सदस्यहरुले पनि नयाँ मुख्य मन्त्रीमा जसपाका मुख्यमन्त्री नियुक्त भएको स्वीकारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ