काबिल सम्वाददाता
वीरगन्ज
मंगलबार साँझ वीरगन्जको भानु चोकमा रहेको होटल साह पाराडाइजमा मृत भेटिएका दुई जनाको पहिचान खुलेको छ । आवश्यक रीत पु¥याई प्रहरीले गरेको अनुसन्धानबाट मृत भेटिएका दुवै पुरुष भारतीय नागरिक भएको पहिचान खुलेको हो ।
मृतक दुबैजना बाबु छोरा पनि रहेको खुलेको पर्सा प्रहरीले जनाएको छ । उनीहरु भारतको कोलकतास्थित त्रिपुराका ६७ वर्षिय सजल आचार्जी र उनका २४ वर्षीय छोरा सागर आचार्जी रहेको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । उनीहरु असोज १९ गतेदेखि कोठा नम्बर १११ मा बास बसेका र मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान समेत होटलमा तल नझरेपछि होटेलका कामदारले ढोकामा पुगी बोलाउँदा भित्रबाट ढोका नखोलेपछि सो कोठासँगै रहेको अर्काे कोठाको भन्टिलेसनको सानो प्वालबाट हेर्दा कोठामा बाबु र छोरा दुवै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीमा खबर गरेको पर्सा प्रहरीले घटना बारे बताएको छ ।
मंगलबार साँझ करिब ७ः३० बजे प्रहरी पनि त्यहाँ पुगी भेन्टिलेसनबाट हेर्दा कोठा भित्र सजन ओछ्यानमा र छोरा सागर झुन्डिएको अवस्थामा देखेपछि होटलले लिएको उनीहरुको परिचय खुल्ने पत्रबाट उनीहरु भारतीय नागरिक भएको खुल्यो । लगत्तै कोठा फोर्नुभन्दा अगाडी वीरगन्जमा रहेको भारतीय बाणिज्य दूतावाससँग समेत समन्वय गरी रीतपूर्वक बुधबार बिहान मात्र पर्सा प्रहरीले मृतकका शव पोष्टमार्टमका लागि कोठा बाहिर निकाली वीरगन्जको नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी नायव उपरिक्षक लम्सालले विस्तृतमा बताए ।
कोठाभित्र ओछ्यानमा ६७ वर्षीय सजल घोप्टो परेको अवस्थामा र उनका छोरा सागर सिलिंग पंखामा झुण्डिएको अवस्थामा फेला परेका पनि पर्सा प्रहरीको जनाएको छ । ओछ्यानमा मृत भेटिएका सजलको घाँटीमा नील डाम पनि देखिएको छ । थप विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने पनि पर्सा प्रहरीले जनाएको छ ।
मृतक भारतीय नागरिक रहेकोले घटनाका बारेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई अनौपचारिक रुपमा जानकारी गराइसकेको पर्साका प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।
साह प्याराडाइजमा मृत फेला परेका दुबै नागरिक भारतीय

प्रतिक्रिया लेख्नुहोस्