spot_img

ताजा अपडेट

मधेस प्रदेशका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

काबिल सम्वाददाता
वीरगन्ज
जेनजीको आन्दोनल पश्चात क्षति पुगेको मधेश प्रदेश सरकारका भौतिक संरचनामा भएको क्षतिको बारेमा छलफल गर्न मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलबीच भेटघाट भएको छ । दुबै उच्च पदस्थको भेटघाट मुख्यमन्त्री निवास जनकपुरधाममा भएको हो ।
मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा मुख्यमन्त्री सिंह र सभामुख मण्डलबीच आपसी छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले बताए । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि उत्पन्न समस्या निरुपणका सवालमा कसरी अगाडी बढ्ने भन्ने कुरा छलफल भएको छ । मधेस प्रदेशसभा संचालनका लागि आवश्यक भौतिक संरचनासहितका अन्य संरचना निर्माण कसरी गर्ने भन्ने गम्भिर छलफल भएको मधेस प्रदेशका सभामुख मण्डलको सचिवालयले पनि जनाएको हो ।
मधेश प्रदेशको संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्षसहित मधेस प्रदेशसभाका सम्पूर्ण संरचना तोडफोड र जलेका कारण अहिले नै प्रदेशसभाको बैठक बस्न सक्ने अवस्था नरहेको सभामुख मण्डलले मुख्यमन्त्रीसँग पनि भनेको सहभागी मध्येएकले जनाए ।
मुख्यमन्त्रीमाथिको आफ्नै पार्टीको संसदीय दलको बैठकले विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुन भनिरहेको समयमा मुख्यमन्त्री सिंहले संविधान अनुसार प्रदेशसभाबाट ३० दिन भित्रमा विश्वासको मत लिइसक्नु पर्ने हुन सक्छ । त्यसका लागि पनि मधेस प्रदेशसभाको बैठक अपरिहार्य भएपछि मुख्यमन्त्रीको सकृयतामा दुई उच्च पदस्थका बीच भेट भएको खुलेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ