spot_img

ताजा अपडेट

लागु औषधमा संलग्न अधिकांश युवा

लतमा संलग्नको जालो तोड्न सकृय बन्दै प्रहरी

काबिल सम्वाददाता
वीरगन्ज
प्रतिवन्धित लागु औषधसँग संलग्न मुद्दामा पर्ने व्यक्ति अधिकाँश १६ देखि ३५ वर्ष उमेर समूहका युवा रहेको भेटिएको छ । लागु औषधसँग सम्बन्धित पक्राउ परेका प्रयोगकर्ता तथा कारोवारीहरु मध्ये पर्सा प्रहरीको चारवर्षे तथ्याँकले यस्तो पुष्टि गरेको हो ।
प्रहरीले लागु औषधमा संलग्नलाई नियन्त्रणमा लिने र अनुसन्धान गर्ने क्रममा कम श्रम गरी धेरै पैसा चाहिने, देखासिकी गरी लतमा फस्ने र वेरोजगारीको बहाना बनाएर काम गर्न अल्छी स्वभावका युवा लागु औषधतर्फ फस्ने गरेको पर्सा प्रहरीको अनुसन्सानबाट खुलेको छ । प्रहरीको कष्टडीसम्म पुग्ने लागु औषधसँग संलग्न व्यक्तिहरुको उमेर समूहको पहिचान गर्दा सबैभन्दा बढि १६ वर्षदेखि ३५ वर्ष उमेर समूहका भएको तथ्याँकले देखाएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । यसमा धनी बाउका छोराछोरी र गरिब परिवारका युवा पनि लागु औषधको लतमा फसेको पाइएको उनको भनाइ छ । युवाले देखासिकी पनि बढि गर्ने र कम श्रममै बढि पैसा खोज्ने बानीले ग्रामिण क्षेत्रसम्मका नेपाली युवाहरु यसमा संलग्न भएको पर्सा प्रहरीले जनाएको छ । लागु औषधको मुद्दामा पक्राउ पर्ने व्यक्तिहरु चाही १४ वर्षदेखि माथि ६५ वर्षसम्मका रहेको पर्सा प्रहरीको चारवर्षे तथ्याँकले देखाएको छ ।
प्रहरीको कडाइले ग्रामिणबस्ती छिर्दै संलग्नहरु
मुलुकको प्रमुख सीमा नाका रहेको वीरगन्ज शहरमा पर्सा प्रहरीले कडाई गरेपछि पछिल्लो समय कारोबारी र प्रयोगकर्ताहरु खुल्ला सीमाको फाइदा उठाउँदै ग्रामिण क्षेत्रतर्फ छिर्न थालेको पर्सा प्रहरीको निष्कर्ष छ । लागु औषधको प्रयोग र ओसार पसार गाउँ पसिसक्दा पनि स्थानीय सरकारहरु भने गुमनाम रहेको भेटिएको छ । पर्सा प्रहरीले भने लागु औषधको जालो च्यात्न र स्थानीय सरकारहरुलाई जवाफदेही बनाउन ४५ किलोमिटरको दूरी तय गरी लागु औषधबाट अलग रहन गाउँसम्मै सचेतना ¥याली निकाल्न थालेको छ । गएको भदौ २३ गते पनि पर्सा प्रहरीले जिल्लामा पहिलो पटक वीरगन्जदेखि गाउँसम्मको ४५ किलोमिटर लामो ¥याली निकाल्दै स्थानीय सरकारलाई पनि नैतिक दवाव दिएको छ । प्रहरीले यति सकृयता देखाउनुको कारण वीरगन्ज कारागारमा पुगेका कैदीबन्दीहरु मध्ये ६० प्रतिशत जति लागु औषधसँगै जोडिएका रहेको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।


पर्सा प्रहरीले निकालेको ¥याली वीरगन्ज महानगरको वेलवादेखि सुरु भई पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका हुँदै ६ वटा पालिकाका विभिन्न ठाउँमा एकैदिन पुगेको थियो ।
वीरगन्ज कारागारमा भएका १ हजार ३ सय १० कैदीबन्दी मध्ये ४० प्रतिशत लागु औषधसँग सम्बन्धित मात्रै रहेको वीरगन्ज कारागारका प्रमुख (जेलर) बाबुलाल रेग्मीले पनि पुष्टि गरे ।
लागु औषधमा मुद्दामा संलग्नको ४ वर्षे तथ्याँक
गएका चार वर्षमा गाँजा, चरेश लगायतका लागु औषध प्रयोग र ओसार–पसारमा सम्लग्नहरु मध्ये पर्सामा १ हजार २ सय १३ जना पर्सामा मात्र पक्राउ परेको पाइएको छ । पक्राउ पर्ने मध्ये महिला पनि ४६ जना रहेको पर्सा प्रहरीले जनाएको छ । सो अवधिमा ८ सय ७५ वटा त मुद्दा नै न्यायालयसम्म पुगेको पर्साका प्रहरी नायव उपरिक्षक लम्सालले बताए ।
लागु औषध बरामदको परिणाम
आर्थिक वर्ष २०७८/०७९ देखि आर्थिक वर्ष २०८१/०८२ सम्म पर्सा जिल्लामा लागु औषध गाँजा ४ हजार ५ सय ८७ किलो, चरेश ८ सय ५३ के.जी.९ सय ५२ ग्राम, हेरोइन १ हजार ७ सय ८६ के.जी. ३१ ग्राम र अफिम पनि १४ के.जीं ६ सय ४४ ग्राम बरामद हुनु राम्रो संकेत नभएको प्रहरीको तर्क छ । प्रहरीले बरामद गरेको परिणाम मात्र यति छ । प्रहरीका आँखा छली झन कति ठूलो परिणामको प्रयोग र कारोबारी भइरहेको होला ? स्थानीय बुद्धिजिबीहरुले तर्क गरे ।
दक्षिणी खुल्ला सीमा रहेको नेपालका एउटा जिल्लाबाट मात्र चार वर्षमा फेनार्गन २३ हजार ६ सय ५३ क्याप्सुल, डाइजेपाम १६ हजार ४ सय ३५ क्याप्सुल, नुर्फिन २४ हजार ३ सय ७६ क्याप्सुल, नाइट्रोभेट ट्याव्लेट ५९ हजार ६ सय ८६ थान, कोरेक्स सय एमएलको ७ हजार ४ सय ६९ थान र ट्रामाडोल क्याप्सुल पनि २ लाख ८९ हजार २ सय ७४ थान बरामद भएको तथ्याँकले लागु औषधको जालो भयंकर हुँदै गएको प्रहरीकै भनाइ छ ।
सकारात्मक परिवर्तन युवामा आवश्यक
पछिल्लो समय मुलुकमा जेनजी समूहको रापताप बढेको छ । यत्रो आन्दोलनको सृजना गर्न सक्ने जेनजी समूहले अब लागु औषधको जालो च्यात्न पनि सकारात्मक खबरदारी गर्नु पर्ने सीमा नजिकका बुद्धिजिबीको सुझाव छ । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले पनि युवाहरुलाई कुलतबाट जोगाउन युवाहरुकै सकारात्मक दवावको खाँचो रहेको औल्याए । अग्रजको सम्मान, नैतिक शिक्षाको कमी, खानपानको असावधानी जस्ता कुराले युवामा प्रस्न उठ्न थालेको पनि ज्येष्ठ नागरिकहरुको भनाइ छ । परिवर्तनको सुमार्गमा आउन चुनौति छ । तर शहरदेखि गाउँसम्मका युवामा जेनजीको आन्दोलनमा एक भएझैं सकृयता देखाउने हो भने लागु औषधको बिकृत जालो सहजै च्यातिने पनि ज्येष्ठ नागरिकहरुको तर्क छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ