spot_img

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको लागत संकलन गरिदै

काबिल सम्वाददाता
वीरगन्ज
जेनजीको आन्दोलनका क्रममा गएको २३ र २४ गते मुलुकका अन्य ठाउँमा झैं पर्सामा पनि विभिन्न सार्वजनिक र व्यक्तिका नीजि संरचना तथा सम्पतिमा क्षति भएको छ । क्षति भएका भौतिक संरचनाहरुमा ११ वटा सरकारी कार्यालय, ९ वटा प्रहरी बीट तथा चौकी र सातजना नेताका नीजि घर तथा सम्पतिमा क्षति क्षति पुगेको तथ्याँक संकलन भएको हो ।
क्षतिग्रस्त संरचनाको संंख्यात्मत तथ्याँक संकलन भए पनि ती संरचना तथा सवारी लगायतमा पुगेको क्षतिको लागत संकलन भने भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख तोय नारायण सुवेदीले बताए । क्षति भएका संरचनाहरुको पहिचान भए पनि लागतको अनुमानित विवरण अझै संकलन भइनसकेको उनको भनाइ छ ।
भौतिक संरचना तर्फ महानगरमा बढी क्षति  
मधेश प्रदेशको एक मात्र महानगरपालिका ‘वीरगन्ज’ का १६ वटा सवारी साधनसहित दुईवटा नीजि पनि गरी १८ वटा सवारी साधन राखेकै ठाउँमा तोडफोड र आगजनीमा परी पूर्ण नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । त्यसै गरी महानगरका मेयरको सचिवालय भवन सहित ७ वटा भवनमा पनि क्षति पुगेको जनाइएको छ । जसमा तीनवटा भवन त पूरै काम नलाग्ने गरी क्षति भएको प्रहरी अनुमान छ । त्यसैगरी नेपाल टेलिकम वीरगन्ज शाखा, आन्तरिक राजश्व कार्यालय वीरगन्ज, महानगरपालिकाको १० नंम्बर, १४ नम्बर, २६ नम्बर वडा कार्यालय, जिराभवानी गाउँपालिका कार्यालय, वीरगन्ज कारागार, बालसुधार गृह, पोखरिया नगरपालिका, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गरी क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मेयर र पूर्वमन्त्रीका घरमा आगजनी सहित पूण क्षति
आन्दोलनकारीले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु राजकुमार गुप्ता, अजय चौरसिया, प्रदीप यादव, संविधान सभा सदस्य अनिल रुंगटा, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीका नीजि घर तथा सम्पतिमा पनि तोडफोड, लुटपाट र आगजनी भएको पर्सा प्रहरीले संकलन गरेको तथ्याँकमा उल्लेख गरिएको छ । नेताका घरहरुमा वीरगन्ज महानगरपालिकाका प्रमुख सिंह, पूर्वमन्त्रीहरु गुप्ता, चौरसिया, यादव र संविधान सभा सदस्य रुंगटाका घर कामै नलाग्ने गरी क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीको पनि दावी छ । मधेश प्रदेशका पूर्व मन्त्री गद्दी, जिराभवानी गाउँपालिकाका अध्यक्ष चौधरीका घरमा पनि आन्दोलनकारीको नाममा पुगेको भीडले क्षति पु¥याएको पर्सा प्रहरीले जनाएको छ ।
आन्दोलनका नाममा घुसपैठ
जेनजी आन्दोलनकारीका नाममा वीरगन्ज, पर्सामा भएको आन्दोलनमा पनि केही घुसपैठ भएको प्रहरी निष्कर्ष छ । सरकारी सम्पति र व्यक्तिको नीजि सम्पतिमा क्षति भएको प्रारम्भिक अनुसन्धानले आन्दोलनकारीको नाममा घुसपैठ भएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । प्रविधिको युगमा तोडफोड र आगजनी तथा लुटपाटमा संलग्न कोही पनि नउम्कने उनको तर्क छ । प्रहरी प्रशासनले अनुसन्धानका क्रममा यता तर्फ पनि ध्यान नदिने भन्ने हुँदैन उनले भने । जेनजी आन्दोलनकारीलाई देखाएर भएका तोडफोड, आगजनी र लुटपाटमा सम्लग्न पहिचान हुने क्रम पनि खुलेको प्रहरी उपरिक्षक मिश्रले काबिल खबरलाई बताए ।
आन्दोलनकारीले पर्सामा प्रहरीका ९ वटा संरचनामा पनि क्षति पु¥याएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । क्षति पुगेको संरचनाहरुमा ईलाका प्रहरी कार्यालय सुगौली बिर्ता, प्रहरी चौकी गण्डक, प्रहरी चौकी खेस्राहा, अस्थायी प्रहरी पोष्ट घण्टाघर, शिवपार्वती, रानीघाट, इनर्वा गाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसीटीलगायत रहेको उनको भनाइ छ । ती प्रहरी पोष्ट, चौकी र ईलाका प्रहरी कार्यालयमा प्रहरी पठाइ पुनः सेवा सुरु पनि गरिएको उनले बताए ।
महानगरको मात्र करिब डेडसय करोड क्षति अनुमान
तोडफोड र आगजनीमा वीरगन्ज महानगरपालिकाको मात्र करिब डेड सय करोडभन्दा बढिको क्षति भएको अनुमान गरिदै छ । आर्थिक क्षतिसँगै वीरगन्ज महानगरवपालिकाको कुनै पनि कागजी लगत भने महानगरसँग नभएको वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए । कार्यालय र आफ्नो घरमा पनि आधाभन्दा बढि सामान त लुटपाट गरी आन्दोलनकारीको आवरणमा लगिएको हुन सक्ने मेयर सिंहको भनाइ छ ।
सिसी क्यामेरा फुटेजको आधारमा खोजी गर्दै जाँदा १०–१५ ठाउँबाट केही सामान फिर्ता पनि ल्याइएको वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले सामान देखाउँदै बताए । भिडियो क्लिप हेरी हेरी नगर प्रहरीले केही कुर्सी टेवल, पंखा, सोफा जस्ता सामान चोरी गरी लगेका ठाउँबाट फिर्ता ल्याइरहेको पनि नगर प्रहरीहरुको भनाइ छ ।
क्षतिको लागत विवरण संकलन जारी  
वीरगन्जमा रहेको आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकम वीरगन्ज शाखा कार्यालय, लगायत यहाँ क्षति भएका संरचनाको आर्थिक लागत संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सबै कार्यालय र व्यक्तिका घरमा पुगेको क्षतिको लगत संकलन गर्ने काम भइरहेकोले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख तोय नारायण सुवेदीले बताए । अहिले नै यति मूल्य बराबरको नोक्सान भएको भन्न अलि तथ्याँक संकलन भइनसकेको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ