काबिल सम्वाददाता
नियन्त्रण उन्मुख रहेको वीरगन्जको हैजा संक्रमणबाट गएका १५ दिनमा २ सय ६ जना संक्रमित पुष्टि भएका छन् । गएको भदौ ६ गते शुक्रबार वीरगन्जको तराई हस्पिटलमा भर्ना भएका वीरगन्ज १२ मूर्लिका ६÷७ जना बिरामी मध्ये दुई जनामा त्यही दिन राती हैजाको जिवाणु (कोलेरा) पुष्टि भएको थियो । त्यसयता भदौ २० गते शुक्रबार साँझ ६ बजेसम्म कुल २ सय ६ जनामा कोलेरा जिवाणु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको हो ।
पहिलो पटक भदौ ६ गते पुष्टि भएको हैजाको जीवाणु उस्तै लक्षण देखा परेका महानगरका थप ४ वटा वडामा तीन दिनपछि नै भेटिएको थियो । झाडा पखाला भई हैजाकै आशंकामा वीरगन्जका विभिन्न २० वटा स्वास्थ्य संस्थामा भर्ना भएका बिरामीहरु मध्ये शुक्रबार साँझ ६ बजेसम्म २ सय ६ जना कोलेरा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । हैजाकै कारण पर्सामा कसैको पनि मृत्यु चाही नभएको उनको भनाइ छ ।
हैजाबाट संक्रमण हुनेको संख्या निरन्तर एकिन भइरहे पनि, हैजाको जिवाणु मानिसको शरिरसम्म पुग्नुको कारण भने अझै पत्ता लागि नसकेको पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । तथापि पछिल्ला तिन–चार दिनयता संक्रमण हुने बिरामीको संख्यामा पनि कमी आइरहेकोले कोलेरा (हैजा) नियन्त्रण उन्मुख रहेको उनको दावी छ ।
वीरगन्जको नारायणी अस्पतालका सूचना अधिकारी समेत रहेका डाक्टर उदयनारायण सिंहले पनि हैजा नियन्त्रण उन्मुख रहेको बताएका छन् । प्रत्येक दिन अस्पताल आउने बिरामीको संख्या घट्दै गएको उनको तर्क छ । दुई दिनमा १२ जना बिरामी थपिएकामा चार जनामा मात्र हैजा पुष्टि भएको जनस्वास्थ कार्यालय पर्साले जनाएको छ ।
संक्रमणको कारण अन्यौल
प्रदेश सरकार र संघ सरकारबाट पनि स्वाथ्य विज्ञको टोली तथा स्वास्थ्यमन्त्री प्रदिप पौडेल र गृहमन्त्री रमेश लेखककोे दलबल सहितको विज्ञ टोली वीरगन्जसम्म आए पनि हैजाको जिवाणु के कारण मानिसमा प्रवेश ग¥यो ? भन्ने पत्ता लगाई सकेको छैन । विज्ञहरुको अनुसन्धान गर्ने क्रम जारी रहेको तथापि यसै कारण भन्ने चाही पत्ता लागि नसकेको जिल्ला विपत् व्यवस्थापन समिति पर्साका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पनि बताए ।
शैक्षिक संस्था बुधबारबाट संचालन
वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत सुमन चन्द्र ठाकुरले पनि हैजा नियन्त्रण उन्मुख भएको बताए । हैजा नियन्त्रण उन्मुख हुन थालेको भन्दै ८ दिन बन्द रहेका महानगर भित्रका विद्यालयहरु पनि गएको बुधबारबाट संचालनमा आएका छन् । महानगरको मंगलबार बसेको शिक्षा समितिको बैठकले कक्षा ८ माथि १२ कक्षासम्मका सबै कक्षा बुधबारबाट संचालन गर्ने निर्णय गरे अनुसार निर्णयको दाएरामा रहेका सबै विद्यालय संचालन सुरु गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले काबिल खबरलाई बताए । महानगरको स्वास्थ्य महाशाखाको नियमित निगरानी र स्वास्थ्य कार्यालयको तथ्याँक दुवैलाई निगरानी गर्दै पछिल्लो अवस्थालाई आंकलन गरी शैक्षिक संस्था संचालन गर्ने निस्कर्षमा पुगिएको उनको तर्क छ ।
झाडापखालाबाट अस्पताल पुग्ने बिरामीको कुल संख्या १ हजार ७८
झाडा पखाला लागेर हैजाको आशंकामा वीरगन्जको नारायणी अस्पताल, तराई हस्पिटल लगायत स्थनीय २० वटा अस्पताल तथा स्वास्थ्य संस्थामा १५ दिनमा कुल १ हजार ७८ जना बिरामी भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साको तथ्याँकमा उल्लेख गरिएको छ । बिहान र बेलुका दुई समयमा अपडेट संकलन गर्दै गरेको स्वास्थ्य कार्यालय पर्साको शुक्रबारसाँझ ६ बजेको तथ्याँक अनुसार भर्ना भएका उक्त बिरामी मध्ये १ हजार ६ जना डिष्चार्ज पनि भई घर फर्किएको पनि स्वास्थ्य कार्यालय पर्साको तथ्याँकले पुष्टि गरेको छ । झाडा पखालाकै कारण अस्पतालमा भर्ना भएका बिरामी मध्ये जनरल वार्डमा ५८ जना, आइसियुमा १० जना र एचसीयुमा ४ जना गरी ७२ जना मात्र अस्पतालमा रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको हो ।
कोलेरा पुष्टि भएको संख्या २०६
हैजा भएका मध्ये पनि १ सय ८८ जना निको भई घर फर्किसकेका भए पनि संक्रमण पुष्टि भएका मध्ये अब १८ जना हैजाका बिरामी बिभिन्न अस्पतालहरुमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । संक्रमितहरु मध्ये ४ जना बिरामी वीरगन्जको नारायणी अस्पतालमा, ३ जना वीरगन्ज हेल्थ केयर हस्पिटलमा, ५ जना नेशनल मेडिकल कलेज शिक्षण हस्पिटलमा, १ जना एड्भान्स हस्पिटलमा र ४ जना प्रभु हस्पिटलमा तथा १ जना पर्साको दोस्रो सदरमुकामका रुपमा चिनिएको पोखरिया अस्पतालमा उपचारार्थ रहेको पनि जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भर्ना भएका मध्ये दुई जनाको अवस्था भने अलि गम्भिर रहेको र बाँकी अरु बिरामीको अवस्था सामान्य नै रहेको पनि आफूलाई समेत रिर्पाेटिङ्ग भएको पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।