काबिल सम्वाददाता
वीरगन्ज
स्वदेशमा बस्न र यहीं उद्योग व्यवसाय संचालन गर्न हच्किएको नेपाली समाजलाई पर्साले भने दुत्कार्न थालेको पाइएको छ । ईच्छाशक्ति भए मुलुकभित्रै उद्योग व्यवसाय गरेर रहन सकिन्छ भन्ने यो तथ्यले सकारात्मक सन्देश पनि दिएको हो ।
आर्थिक नगरी वीरगन्ज समेत रहेको पर्सामा अघिल्ला वर्षहरुभन्दा गतवर्ष साना तथा घरेलु उद्योग दर्ता हुने क्रम ह्वात्तै बढेको भेटिनु सकारात्मक सन्देश कै नमूना हुनसक्ने स्थानीयको मिलेको छ । कोरोनाकाल पछि पर्सामा साना तथा घरेलु उद्योगहरु थपिने क्रम खस्किदै आएको थियो । तर गत आर्थिक वर्ष (आ.ब.) २०८१÷०८२ मा भने अघिल्लो वर्षको तुलनामा ३ सय ९ वटा नयाँ उद्योग बढी थपिएको पाइएको छ ।
प्रदेश सरकार मातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय, पर्सामा गएको आर्थिक वर्ष कुल १ हजार ७ सय २१ वटा नयाँ उद्योग व्यवसाय दर्ता भएको पाइएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ कोभन्दा ३ सय ९ नौले बढि हो । जबकी अघिल्लो आर्थिक वर्ष पर्सामा कुल १ हजार ४ सय १२ वटा मात्र नयाँ उद्योग व्यवसाय दर्ता भएका थिए । यो तुलनात्मक रुपमा राम्रो पक्ष हो ।
त्यसै गरी नयाँ दर्ता हुने मात्र नभई विगतमा दर्ता भएका उद्योगहरु नविकरण हुने क्रममा समेत निकै सुधार भएको पाइएको छ । अर्थात आर्थिक वर्ष ०८०÷०८१ मा भन्दा गत आ.ब.०८१÷०८२ मा ८ सय २ वटा बढि उद्योग नविकरण पनि भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साको तथ्याँकले पुष्टि गरेको छ । यो भनेको उद्योग तर्फ १ हजार ५ सय ९८ र बाणिज्य तर्फ १ हजार ३ सय ९२ उद्योग व्यवसाय गत आ.ब.मा नविकरण भएका हुन् । जबकी अघिल्लो आ.ब.०८०÷०८१ मा पर्सामा उद्योग तर्फ १ हजार १ सय ८६ र बाणिज्य तर्फ १ हजार ६ वटा मात्र उद्योग व्यवसाय नविकरण भएका थिए । यो तथ्याँकले पनि तुलनात्मक रुपमा नेपालमा नै केही गरीखान सकिन्छ भन्ने नयाँ सन्देश पर्साले प्रवाह गर्न थालेको पाइएको हो ।
गत आ.ब.मा नयाँ दर्ता भएका नयाँ फर्महरुमा ८ सय ८८ उद्योग तर्फ र ७ सय ५३ बाणिज्य तर्फ गरी कुल १ हजार ६ सय ४१ प्राइभेट फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियारले बताए । त्यसै गरी साझेदारी तर्फ पनि उद्योग तर्फ १५ र बाणिज्य तर्फ ५ गरी २० वटा र प्राइभेट लिमिटेडमा पनि ६० वटा नयाँ थपिदै गत आ.व.मा कुल १ हजार ७ सय २१ नयाँ उद्योग व्यवसाय दर्ता भएको उनको भनाइ छ ।
नेपाल सरकारको उद्योग व्यवसाय प्रवद्र्धनमा सकारात्मक जोड तथा दर्ता अनि नविकरण शुल्कमा समेत आमूल परिवर्तनको नीति र लगानीको सुरक्षा हुने अवस्था सृजना हुँदा श्रम बजारमा पनि नयाँ उद्योग दर्ता र नविकरण हुने संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियारले बताए । यस्ता कदमले मुलुक बाहिर जाने विस्तारै न्यूनिकरण हुन सक्ने पनि देखिएको उनको तर्क छ । नयाँ उद्योग तथा व्यवसाय दर्ता गर्न आउने मध्ये कतिपय विदेश गएर फर्केका युवाहरुमा पनि रहेको उनको भनाइ छ । यसले पनि थोरै सकारात्मक संदेश दिएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पंजियारले काबिल खबरलाई बताए ।
यति नै भन्ने ठ्याक्कै तथ्याँक निकाली सकेको त छैन । तथापि नयाँ उद्योग व्यवसाय दर्ता गर्नेमा विदेश पुगेर फर्केका पनि रहेको उनको भनाइ छ । नयाँ उद्योग दर्ता तथा नविकरण लगायत विभिन्न १९ किसिमका सेवा प्रदान गर्दा राज्यमा राजश्व पनि ९७ लाख ३७ हजार एक सय उठेको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ । नयाँ दर्ता गर्दा पहिले लाग्ने करिब १२ हजार शुल्कमा जम्मा ७ सय मात्रै र नविकरणमा पनि विगतमा भन्दा करिब ८० प्रतिशत कम गर्ने सरकारको नीति हुँदा पनि राजश्वमा समेत खासै गिरावट नआएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्