काबिल सम्वाददाता
बाणिज्य संकायमा अब्बल वीरगन्जको वीरगन्ज पब्लिक कलेज (वीपिसी) मा यसै शैक्षिक सत्रदेखि बीआईटीको कक्षा पनि संचालन हुने भएको छ । यो वर्षका लागि कुल ४८ वटा कोटा रहेको वीपिसीमा मोफसलका विद्यार्थीहरुलाई लक्षित गरी आधुनिक प्रविधियुक्त शिक्षा पनि वीपिसीले दिने भएको हो ।
शिक्षा क्षेत्रमा २५ वर्ष लामो इतिहास बोकेको वीपिसीले यसै शैक्षिक सत्र (२०८२ देखि ) बीआईटीको पनि कक्षा संचालन गर्ने कुरा कलेजमा नै सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सो पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठले २०५७ सालमा स्थापित कलेजले प्लस टु, बिबिए, बिआईएम, बिबिएस, एमबीए, एमबीएस, एसीसीए अध्यापन गराइरहेको समेत बताए । समय सापेक्ष शिक्षा दिने उद्देश्यले यो कलेजले आइन्दा बीआईटीको शिक्षा पनि प्रदान गर्ने उनको भनाइ छ ।
आर्थिक अवस्था कमजोर भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको समेत १० प्रतिशत व्यवस्था सहित अध्यापनलाई यसै शैक्षिक सत्रबाट अगाडी बढाउन थालेको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले पनि बताए । एक पटकमा ४८ जना बिद्यार्थीलाई एक साथ कम्प्युटर प्रयोगशालामा सिकाउन सक्ने गरी व्यवस्था गरिएको उनले प्रयोगशाला अवलोकन समेत गराई बताए ।
कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोपोसेसर ल्याब, आइटीओ ल्याब लगायतका ल्याबको व्यवस्था सहित वीपिसीले यो संकाय पनि संचालन गर्न थालेको वीपिसीका कोअर्डिनेटर इन्जिनियर जय किसन सहनीले बताए । पछिल्लो समय तुलनात्मक रुपमा आइटी क्षेत्रमा विद्यार्थीको आकर्षण वृद्धि हुँदै गएकाले बीआईटीको कक्षा संचालन महत्वपूर्ण हुने उनको तर्क छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले यो संकाय संचालन गर्न थालेको खुलेको हो । चार बर्षे कोर्षमा आठवटा सेमिस्टर संचालन गरी युग सुहाउँदो शिक्षा प्रदान गर्न वीपिसीले विद्यार्थीहरुका लागि पुस्तकालयबाट पाठ्यक्रम अनुसारका पुस्तक समेत उपलब्ध गराउने जनाएको छ ।