काबिल सम्वाददाता
वीरगन्ज
जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता स्व.मदन कुमार भण्डारीको जन्मदिनको अवसरमा पर्सामा पनि स्वास्थ्य शिविर संचालन गरिएको छ । प्रणेता स्व.भण्डारीको नाममा खुलेको मदन भण्डारी फाउण्डेशन पर्साको आयोजनामा यहाँ पनि शनिबार स्वास्थ्य शिविर गरिएको हो ।
शिविरमा आँखा, दाँत, कान र जनरल फिजिसियनका सेवाहरु प्रदान गरिएको आयोजक मदन भण्डारी फाउण्डेशन पर्साका अध्यक्ष शत्रुघन नेपालले बताए । शिविरमा करिब हजार जना जति सर्वसाधारणले सेवा लिएको उनको भनाइ छ ।
निःशुल्क स्वास्थ्य शिविरमा वीरगन्जमा रहेका निलकण्ठ हस्पिटल, वीरगन्ज आँखा तथा दाँत हस्पिटल र इम्प्याक्ट नेपाल गरी तीनवटा स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा सहभागी भएको फाउण्डेशन पर्साको शिविर संचालन तयारी समिति संयोगक अनवर अलीले बताए । उक्त संस्थाका चिकित्सकहरुले निःशुल्क परिक्षण गर्नुको साथै औषधी समेत निःशुल्क रुपमा वितरण गरेको संयोजक अलीको भनाइ छ । शिविरमा ४ सय ५३ जनाले आँखा परिक्षण गराएकामा ८६ जनाको आँखामा मोतियाविन्दु फेला परेको पाइएको छ । उनीहरुलाई आईतबार र सोमबार दुई दिन वीरगन्ज आँखा तथा दाँत हस्पिटलमा निःशुल्क आँखाको अपरेशन गर्ने समय दिइएको पनि संयोजक अलीले बताए । नाँक, कान घाँटी तर्फ पनि १ सय १५ जनाले उपचार गराएका छन् । बाँकी जनरल फिजिसियन तर्फ परीक्षण गराएको संयोजक अलीले बताए ।
शिविरमा जनरल फिजिसियन डा.प्रमोद सर्राफ, आँखाका बरिष्ठ चिकित्सक डा.चन्दन वनर्जी, सहित डा.अजय अस्थाना, डा. राजिव यादव, डा.स्लेश्मा रिजाल र डा.शैलेश कुमार साह लगायत १५ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेको आयोजक मदन भण्डारी फाउण्डेशन पर्साका अध्यक्ष नेपालले बताए । आफूहरुको अपेक्षाभन्दा बढि नै सर्वसाधारणहरु शिविरमा उपस्थिति भएको पनि आयोजकले जनाएको छ । शिविर पर्साको वीरगन्ज–१७ अलौमा संचालन गरिएको हो ।
झण्डै एक हजार सर्वसाधारणले लिए सेवा
शनिबार भएको स्वास्थ्य शिविरमा ९ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएको मदन भण्डारी फाउण्डेशन मधेश प्रदेशका सह–सचिव नवराज शर्माले बताए । ‘आफू कार्यक्रमस्थलमा पुग्दा सेवाग्राहीहरुको विवरण संकलनको तथ्याँक प्राप्त भएकोे’ उनले बताए । कार्यक्रमस्थलमा मदन भण्डारी फाउण्डेशन मधेश प्रदेश सह–सचिव नवराज शर्मा, एमालेका केन्द्रिय सल्लाकार विजय कुमार सरावगी, केन्द्रिय सल्लाहकार तथा फाउण्डेशनका पर्सा ईन्चार्ज ठाकुर प्रसाद न्यौपाने, वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छतकुली लगायत फाउण्डेशन पर्साका पदाधिकारी तथा सदस्यहरुको सकृय उपस्थिति रहेको थियो ।
निर्णय अनुसार शिविर
गएको जेठ २८ गते पर्साको वीरगन्जमा बसेको फाउण्डेशनको बैठकले गरेको निर्णय अनुसार असार १४ गते (आज) स्व.भण्डारीको जन्मदिनको अवसरमा स्वास्थ्य शिविर संचालन गरिएको हो । २०५० सालमा स्व.भण्डारीको सुनियोजित ढंगले ‘दासढुंगा हत्याकाण्ड’ भएको थियो । एमालेको वैचारिक संगठनका रुपमा रहेको मदन भण्डारी फाउण्डेशन, पर्सामा भने उनको निधन भएको ३१ वर्ष पछि फाउण्डेशन स्थापना भएको थियो । एमालेका जनवर्गीय संगठनहरु मध्ये पर्सामा सबैभन्दा कान्छो संगठनका रुपमा रहेको फाउण्डेशनले आफ्ना गतिविधि भने स–शक्त पार्दै आएको छ ।