काबिल सम्वाददाता
वीरगन्ज
नीजि क्षेत्रको अगुवाईमा मधेश प्रदेशमा नै पहिलो पटक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्याकेज टुर सम्बन्धी प्रशिक्षण’ गरिएको छ । तीन दिनसम्म चलेको यो प्याकेज टुर निर्माण सम्बन्धी रणनीतिक कार्यक्रमको प्रशिक्षण बुधबार समापन गरिएको हो ।
माल बस्तुमात्र आयातको नभई स्थलमार्ग भएर पर्यटक समेत भित्रिने वीरगन्ज नाकामा नै पर्यटक प्याकेज सम्बन्धी टुर निर्माणको पहिलो प्रशिक्षण हुँदा सहभागीहरुमा एउटा नयाँ उर्जा संचार पनि भएको सहभागीहरुले जनाएको छन् । हुन पनि स्थलमार्ग भई वीरगन्ज र जनकपुर लगायत मधेश प्रदेशका अन्य नाकाबाट नेपाल भित्रिने पर्यटकलाई कम्तिमा दुई दिन यो प्रदेशमा नै राख्न सक्ने गरी पर्यटन प्रवद्र्धनको प्याकेज टुर बनाइदा यहाँका होटल तथा पर्यटन व्यवसायीहरुमा स्वभाविक रुपमा उत्साह बढ्छ नै । अझ यसको अगुवाई पनि नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) अर्थात नीजि क्षेत्रले नै गर्दा होटल तथा पर्यटन व्यवसायीहरुमा नयाँ उर्जा थपिनु अन्यथा होइन । मधेश प्रदेश सरकार सहित यो प्रदेशमा १ सय ३७ वटा सरकार हुँदा पनि प्रदेशको समृद्धिका महत्वपूर्ण सूचक मध्ये पर्यटन प्रवद्र्धनको लागि अगुवाई गर्न नीजि क्षेत्र पर्यटन बोर्डलाई साथमा लिएर अग्रसरता देखाउनु आफैमा स्वागतयोग्य कदम पनि हो ।
सुस्त सरकार सकृय नीजि क्षेत्र
मधेश प्रदेशमा यत्रो धेरै सरकार हुँदा पनि कुनैले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार पर्यटन प्रवद्र्धनको सवालमा अझै ठोस प्याकेज टुर बनाउन नसक्नु लाजमर्दो भएको तालिममा सहभागीहरुको तर्क छ । सरकारहरुले नै नसकेपछि उनीहरुलाई घच्घच्याउने नैतिक दवाव दिंदै नाटाले यस्तो गतिविधि निरन्तर अगाडी बढाउनु राम्रो कदम भएको उनीहरुको टिप्पणी पनि छ । नेपाल पर्यटन बोर्डलाई पनि नाटाले साथमा लिएर नै यो कार्य अगाडी बढाउँदा अब चाही मधेशमा पनि पर्यटन प्रवद्र्धनले केही फड्को मार्ने आशा जागेको वीरगन्जका बरिष्ठ होटल तथा पर्यटन व्यवसायी पशुपति विक्रम शाहले बताए ।

पहाडी दृष्य देखिने पोखरा, काठमाण्डौ मात्र नभई लुम्बिनी र सौराहा जस्तै मधेश प्रदेशमा पनि वृहत प्याकेज टुर बनाएर पर्यटक आकर्षण गर्न सकिनेमा २०२४ सालदेखि ‘सम्झना होटल’ सञ्चालन गर्दै आएका वीरगन्जका पुराना होटल तथा पर्यटन व्यवसायी शाहको तर्क छ । ‘वीरगन्जबाट नेपाल’ जाने भन्दै ‘काठमाण्डौ’ जानुपर्दाको अनुभव सुनाउँदै उनले मधेश प्रदेशमा नेपाल पर्यटन बोर्ड र सरकारको प्राथमिकता पहिले नपुगेको उनको भनाइ छ । राज्यकै संयन्त्र सकृय नभएपछि नीजि क्षेत्रको अगुवाइमा पनि यस्ता कार्यक्रम हुनु सकारात्मक भएको उनले दावी गरे ।
पर्यटन लोभ्याउन मधेशमा तीन प्याकेज
मधेश प्रदेशमा ‘छिन्नमस्ता प्याकेज’, ‘जानकी प्याकेज’ र ‘निकुञ्ज प्याकेज’ गरी तीनवटा प्याकेजको अवधारण बनाइएको नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले बताए । यी तीन प्याकेजहरुमा पूर्वको सप्तरी र सिराहालाई समेटेर ‘छिन्नमस्ता प्याकेज’, धनुषा, महोत्तरी र सर्लाहीलाई समेटी ‘जानकी प्याकेज’ र पर्सा, बारा र रौतहटलाई समेटी ‘निकुञ्ज प्याकेज’ बनाइने उनको भनाइ छ । पर्यटन विकास विना प्रदेश र देशको पनि समृद्धि हुन नसक्ने निष्कर्ष सहित आफूहरु सकृय भई पर्यटन प्रवद्र्धनका लागि प्याकेज टुर बनाउन अग्रसर भएको नाटाका अध्यक्ष शर्माको तर्क छ ।
महानगरमा अलौ र रेल्वे संग्राहलयको कुरा
महानगर क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न अलौ संग्राहलय, रेल्वे संग्राहलय जस्ता ऐतिहासिक महत्वका सम्पदा निर्माण र धार्मिकस्थलहरुको प्रवद्र्धनमा महानगर जुटिसकेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए । वीरगन्जमा संचालित तीन दिने ‘भ्रमणको लागि प्याकेज विकास सम्बन्धी तालिम’ को समापनका प्रमुख अतिथि समेत रहेका उनले यस्तो बताए । सरकारहरु खासै सकृय नभएपछि नीजि क्षेत्रले नै सकृयता देखाउन अब ढिलो गर्न नहुने मधेश विश्वविद्यालयका उपकुलपचि डा.दीपक शाक्य, उद्योग विभाग मधेश प्रदेशका महानिर्देशक सुशिल साह, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, होटल एशोसिएसन नेपाल (हान) का मधेश प्रदेश उपाध्यक्ष मोहन प्रधानलको पनि तर्क छ । उनीहरुले ‘टुर प्याकेज’ तालिममा सिकेका कुरालाई पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषा लगायत मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले व्यवहारमा उतार्न पर्ने सुझाव दिएका छन् ।

नाटाका मधेश प्रदेश सचिव शिवम् साहले सहजीकरण गरेको कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) का उपाध्यक्ष विनोद चौधरी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज तुलसी भण्डारी, पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष युवराज खड्का लगायतको सहभागिता रहेको रहेको सो कार्यक्रममा हिमाल, पहाड र लेक नभए पनि मधेशको फुड कल्चर, धार्मिक पर्यटकीयस्थल लगायत यहाँका निकुञ्ज, तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्दै पर्यटनमा मधेश प्रदेशमा पनि आकर्षण थप्न सकिने सहभागीहरुको सुझाव छ ।
तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागी सबैलाई आयोजक नाटा र नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्