काबिल सम्वाददाता
वीरगन्ज
नीजि क्षेत्रको अगुवाईमा मधेश प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न ‘तीनवटा टुर प्याकेज’ बनाइने भएको छ । सोमबार वीरगन्जमा भएको टुर प्याकेज बनाउने सम्बन्धी तीन दिने तालिमको उद्घाटनका क्रममा यस्तो बताइएको हो ।
मधेश प्रदेश सरकार सहित यो प्रदेशमा १ सय ३७ वटा सरकार रहेका छन् । ती सरकारहरु यतिवेला धमाधम आगामी नीति तथा कार्यक्रम ल्याइरहेका छन् । तर मधेश प्रदेश सरकार सहित प्रायः सबै सरकारले नयाँ नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनको ठोस् खाका बनाउन सकेका छैनन् ।
तर नीजि क्षेत्रका रुपमा रहेको नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) ले भने नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी मधेश प्रदेश भरीमा ‘छिन्नमस्ता प्याकेज’, ‘जानकी प्याकेज’ र ‘निकुञ्ज प्याकेज’ गरी तीनवटा प्याकेज बनाई पयर्टकको लागि ‘भ्रमण प्याकेज विकास तालिम’ नै संचालनमा ल्याएको छ । सो तीन प्याकेजहरुमा पूर्वको सप्तरी र सिराहालाई समेटेर ‘छिन्नमस्ता प्याकेज’, धनुषा, महोत्तरी र सर्लाहीलाई समेटी ‘जानकी प्याकेज’ र पर्सा, बारा र रौतहटलाई समेटी ‘निकुञ्ज प्याकेज’ बनाइने रणनीति अगाडी बढिसकेको नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) का मधेश प्रदेश अध्यक्ष मोहन शर्माले बताए । पर्यटन विकास विना प्रदेश र देशको पनि समृद्धि हुन नसक्ने निष्कर्ष सहित आफूहरुले अग्रसरता देखाउन थालेको उनको तर्क छ । पर्यटन विकास विना प्रदेश र देशको विकास हुन सक्दैन उनले भने । तथापि तीन तहका सरकारहरुको पूर्ण सक्रियता नदेखिएको उनको आरोप छ ।

वीरगन्जमा तीन दिने ‘भ्रमणको लागि प्याकेज विकास सम्बन्धी तालिम’ पनि नाटा कै अगुवाईमा नेपाल पर्यटन बोर्डलाई साथमा लिएर सोमबार सुरु गरिएको खुलेको हो । जसमा पर्सा, बारा र रौतहट, धनुषा र महोत्तरीलगायत मधेश प्रदेश भित्रका होटल तथा पर्यटन व्यवसायी एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तालिममा मधेश प्रदेशमा आएका पर्यटकलाई केही दिन यो प्रदेशमा पनि राख्न सक्ने गरी प्रदेश भरी तीनवटा पर्यटन प्याकेज बनाउने आवश्यकता महसुस गरिएको हानका प्रदेश उपाध्यक्ष मोहन प्रधानले पनि बताए । पर्यटन बोर्डसँगको समन्यवमा वीरगन्जमा भइरहेको ‘टुर प्याकेज’ तालिममा पर्यटन विज्ञ विनय शाक्यलगायतले प्रशिक्षण दिइरहेका छन् ।

सोमबारको उद्घाटन कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) को वरिष्ठ उपाध्यक्ष जिस्मा तुलाधरको पनि सहभागिता रहेको छ । उनले मधेशमा हिमाल, पहाड र लेक नभए पनि फुड कल्चर, धार्मिक पर्यटकीयस्थल लगायत पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्दै जानु पर्ने सुझाव दिएकी छन् । आफ्नो ठाउँमा भएकै कुराहरुको प्रचार प्रसार गरी पर्यटक प्रवद्र्धन गर्न सकिने उनको तर्क छ ।
सो अवसरमा वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवलाल राजपालले पनि भारतीय पर्यटकलाई लक्षित गरी विवाहका प्याकेज लगायतमा जोड दिनु पर्ने सुझाव दिएका छन् । पर्यटक प्रवद्र्धनका लागि मधेश प्रदेशभरी मात्र नभई पोखरा, काठमाण्डौ, लुम्बिनी र सौराहासँग पनि समन्वय गरी वृहत प्याकेज टुर बनाएर अगाडी बढ्न सकिने उनले जोड दिए ।
२०२४ सालदेखि वीरगन्जमा ‘सम्झना होटल’ सञ्चालन गर्दै आएका बरिष्ठ होटल तथा पर्यटन व्यवसायी पशुपति विक्रम शाहले ‘वीरगन्जबाट नेपाल’ जाने भन्दै ‘काठमाण्डौ’ जानुपर्दाको अनुभव सुनाउँदै यस्तो अवस्थाको पर्यटनबाट स्पा सम्मको आकर्षणले पर्यटकहरुलाई तान्ने चलन आएको बताए । तथापि राज्यको तर्फबाट भने अझैसम्म पनि पर्यटन प्रवद्र्धनका लागि ठोस प्याकेज नबनाइनु दुखद् भएको उनको भनाइ छ । पर्यटन प्रवद्र्धनसँगै विभिन्न अपराधहरु पनि भित्रिन सक्ने कुरालाई ख्याल गरी खुल्ला बोर्डर भएको नेपालमा पर्यटन प्रवद्र्धन गर्नु पर्ने उनको सुझाव छ ।
नाटाका सचिव शिवम् साहले सहजीकरण गरेको कार्यक्रममा बरिष्ठ होटल व्यवसायी शाहले सरकारहरुले माग नगरसम्म व्यवसायीको हितमा कुनै काम अगाडी नबढाउने सुझाव पनि दिए । टुर प्याकेज बनाउन सिकाउने तालिम बुधबार (११ गते असार) सम्म चल्ने पनि नाटा मधेश प्रदेशले जनाएको छ । यो तालिम नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा आयोजना गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्