वीरगंज, ६ असार । वीरगंज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूसँग शुक्रवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महानगरले यहाँका स्थानीय उपभोक्ताहरूको स्वच्छ परिकार उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नका निमित्त महानगर भित्र रहेका सम्पूर्ण होटल तथा रेस्टुरेन्टहरूलाई खाद्य सुरक्षा र सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । आज होटल मकालुमा आयोजित कार्यक्रममा वीरगंजका होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूलाई जन स्वस्थ निरीक्षक सुमनचन्द्र ठाकुरले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धी विभिन्न प्रस्तुति गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले अनुगमन गर्नुअधि सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूले खाद्य सुरक्षा र सरसफाईसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गरून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताए । उनले महानगर अनुगमनमा आउँदा सम्पूर्णरूपमा चुस्त दुरूस्त हुन निर्देशन दिए । उनले सिकेका कुरालाई ब्यवहारमा उतार्न अनुरोध गरे । कार्यक्रमको सभापति होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरूको लागि अभिमुखीकरण उपलब्धिमूलक रहेकोले यसबाट व्यवसायीहरूले धेरै कुराहरू सिक्ने मौका पाएको बताए । उनले अनुगमनकारी निकायहरूले अनुगमन गर्दा कतिपय कुराहरू ब्यावहारिक रूपमा समेत आत्मसात गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्