spot_img

ताजा अपडेट

पसलहरू बन्द गरेर सुनचाँदी व्यवसायीहरूले प्रजिअलाई साँचो बुझाए

वीरगंज, २९ जेठ । आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा पर्साका सुनचाँदी व्यवसायीहरूले बिहीवारदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भूलन साह सोनारको नेतृत्वमा विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगी सुनचाँदी व्यवसायीहरूले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई ७ बुँदे मागसहितको ज्ञापनपत्र र पसलको चाबी बुझाएका हुन् ।
ज्ञापनपत्रमा सुन तथा सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज हुनुपर्ने, हिरा–जवाहरत जडित गरगहनामा लगाइएको १३ प्रतिशत भ्याट खारेज हुनुपर्ने, सुनचाँदीको कारोवारलाई प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरू बनाउनुपर्ने, छिमेकी देश भारतको सरह नेपालमा पनि सुनमा भन्सार कर ६ प्रतिशत लागू गर्नुपर्ने लगायतका मागहरू उल्लेख छ ।
सरकारको नयाँ नियमले वीरगंजमा चार सय बढी सुनचाँदी पसल र त्यसका सञ्चालक संकटमा परेकोले आन्दोलनको विकल्प नभएको अध्यक्ष सोनारले जानकारी गराएका छन् ।
पर्सा सुनचाँदी व्यवसायी संघका हरिओम सर्राफले वर्तमान कर संरचना व्यवसायीहरूका लागि असहज र अव्यावहारिक बनेको बताए । उनले सरकारको नीति यस्तो छ कि यसले व्यवसाय धराशायी बनाउने खतरा निम्त्याउँछ । व्यवसायीहरूले सुनचाँदी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग भन्दै स्थायित्व, पारदर्शिता र स्पष्ट नीतिगत वातावरणको माग गरेका छन् । सरकारले गम्भीरताका साथ मागहरूमा ध्यान नदिए थप आर्थिक असन्तुलन सिर्जना हुने चेतावनी दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ