वीरगंज, २८ जेठ । भोजपुरी प्रतिष्ठान, वीरगंजले कबीर जयन्ती तथा विश्व भोजपुरी दिवस वीरगंज–११ स्थित ‘आमाको माया छात्रावास’मा रहेका बालबालिकासँग मनाएको छ । कार्यक्रममा शैक्षिक सामग्री वितरण, कविता वाचन तथा खाजाको व्यवस्था गरिनुका साथै बालबालिकासँग आत्मीय संवाद पनि गरिएको थियो । कार्यक्रममा सहभागी कविहरूले सन्त कबीरदासका प्रेरणादायी दोहाहरू प्रस्तुत गर्दै उहाँको सत्यनिष्ठा, निडरताको दर्शन र समाजप्रेमी व्यक्तित्ववारे प्रेरणादायी चर्चा गरेका थिए । छात्रावासका बालबालिकाले पहिलो पटक भोजपुरी भाषामा राष्ट्रभक्ति गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितलाई भावविभोर बनाएका थिए । बालमनबाट अभिव्यक्त भएको भाषिक गौरव र राष्ट्रप्रेमले कार्यक्रममा गहिरो प्रभाव छाडेको थियो। प्रतिष्ठानकी अध्यक्ष अनिता साहले बालबालिकाको सांगीतिक प्रतिभाको प्रशंसा गर्दै गायनमा रूचि भएका बालबालिकालाई प्रशिक्षण दिन प्रतिष्ठान तत्पर रहेको बताइन् । उनले यस्ता कार्यक्रम मार्फत बालबालिकामा आत्मविश्वास, संस्कार र सृजनशीलता विकास हुने विश्वास व्यक्त गरिन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रमोद पाण्डे र दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, कवयित्री अस्मिता पटेल, समाजसेवी शिवम केडिया, प्रतिष्ठानका सचिव अमित अग्रवाल, सदस्यहरू अजय चौरसिया, अमोद गुप्ता, छोटु राज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन श्याम सर्राफले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्