काबिल सम्वाददाता
वीरगन्ज
देशका विभिन्न ठाउँमा झैं एमालेले पर्सामा पनि शनिबार स्व.मदन कुमार भण्डारी र स्व.जिवराज आश्रितको ३२ औं स्मृति दिवस कार्यक्रम मनाएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा पर्साको वीरगन्जमा पनि एमालेले स्व.भण्डारी र आश्रितको ३२ औं स्मृति दिवस मनाएको हो ।
जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक स्व.भण्डारी र स्व.आश्रित दुवैको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सुनियोजित हत्या गराइएको थियो । तर हालसम्म पनि त्यो हत्याको योजनाकार र संलग्न व्यक्ति नेपालका कुनै पनि सरकारले पत्ता लगाउन सकेको छैन ।
‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रतिपादक स्व. भण्डारी सो समयमा नेकपा एमालेको महासचिव थिए भने स्व. आश्रित जनसंगठन प्रमुख थिए । उनीहरु पोखराको कार्यक्रम सकेर झापाको अर्को कार्यक्रमका लागि पोखराबाट पूर्व झापा जाने क्रममा चितवनमा सुनियोजित हत्या भएको थियो ।
उनीहरु जीवित रहेसम्म एमाले पार्टी भित्र नीति, विचार र सिद्धान्त झाँगिएको थियो । तर वर्तमानमा एमालेले त्यसैको ब्याज मात्र खाइरहेको खुद पार्टी भित्रका पुराना नेताहरुको दावी छ । शनिबार वीरगन्जमा भएको ३२ औं मदन आश्रित स्मृति कार्यक्रममा पनि एमालेका केही नेताले यो कुरा भन्न भ्याए । उनीहरुका त्यस्ता भनाइले एमाले भित्र पनि नीति, विचार, सिद्धान्त र प्रशिक्षित कार्यकर्ताको कमी र गुट–उपगुट हावी भएको सहजै बुझ्न सकिन्छ ।
हुन पनि एमाले निकटका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारले पनि एमाले भित्र नेता–नेताको गुटका कारण प्रेस चौतारी नेपाल पर्सामा समेत गुट–उपगुट विभक्त भएको दावी गरेका थिए । सर्वप्रथम पार्टीका नेता कार्यकर्ता एक भएर पार्टी बचाउन लाग्नु पर्ने उनको जोड थियो । पार्टीले लिएको ‘मिसन २०८४’ वर्तमान झैं नेता कार्यकर्ताको गुट–उपगुट शैलीले लक्ष्य पूरा नहुने उनको सुझाव थियो ।
एमालेका सल्लाहकार तथा वीरगन्ज महानगरका निवर्तमान नगरप्रमुख विजय कुमार सरावगी, एमाले मधेश प्रदेश उपाध्यक्ष तथा वीरगन्ज महानगर इन्चार्ज विचारी यादव र एमालेका वीरगन्ज महानगर अध्यक्ष तथा मदन भण्डारी फाउण्डेसन मधेश प्रदेश सह–सचिव नवराज शर्माले पनि पछिल्लो समय एमाले भित्र विचारको राजनीतिमा केही स्खलन देखा परेको बताएका छन् । उनीहरुले आ–आफ्नो ठाउँबाट आगामी दिनमा सबै एमालेजनले पार्टीको हितको लागि काम गर्न पर्नेमा जोड पनि दिए । पार्टीले तोकेको जिम्मेवारी र पदको सहि सदुपयोग गर्दै आफूहरु पनि पार्टीलाई एक ढिक्का बनाउँदै आगाडी बढ्ने कुरामा उनीहरु एक रहेको दावी पनि छ ।
एमालेको वैचारिक स्खलन र स्व.मदन कुमार भण्डारीले प्रतिपादन गरेको जबजका बारे एमालेमा पहिले झैं प्रशिक्षण दिन पर्ने कुरामा मदन भण्डारी फाउण्डेशनका मधेश प्रदेश सह–सचिव नवराज शर्माले जोड दिए । जनताको बहुदलीय जनवादको विचार सिद्धान्त नबुझेको र बुझ्न नचाहने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने उनको भनाइ थियो । प्रशिक्षित र अनुशासित कार्यकर्ताले मात्र पार्टीको गरिमा बचाउनेमा उनले जोड दिए ।
उता स्व.भण्डारी र स्व.आश्रितको ३२ औं स्मृति दिवसमा एमालेको युवा संघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको छ । सो कार्यक्रममा पार्टीका पर्सा ईन्चार्ज प्रभु हजारा, जिल्ला सचिव महेश दास सहित स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो । उनीहरुले पनि पार्टीमा स्व.भण्डारी र स्व.आश्रितले गरेको योगदानको चर्चा गर्दै उनीहरुले अंगिकार गरेको सिद्धान्त र सादा जीवन तथा कार्यशैलीको सबैले अनुशरण गर्दै पार्टीलाई समुन्नत बनाउन पर्नेमा जोड दिएका थिए ।
मदन भण्डारी फाउण्डेशन पर्साका सदस्य एवं प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले स्वागत मनतव्य राखेको कार्यक्रममा फाउण्डेशन पर्साका इन्चार्ज एवं एमाले नेता ठाकुर प्रसाद न्यौपानेले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय एमालेका प्रशिक्षित नेता कार्यकर्ता पाखा लाग्दै नयाँ नेताको हाली मुहाली बढ्न थालेको बताएका थिए । उनले एमालेमा प्रशिक्षणको कमी र अनुशासनको आवश्यकता पनि औल्याएका थिए । फाउण्डेशनका पर्सा सचिव कमलेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अनवर अंसारीले गरेका थिए ।
पर्सामा पनि स्व.भण्डारी र आश्रितको ३२ औं स्मृति कार्यक्रम

प्रतिक्रिया लेख्नुहोस्