spot_img

ताजा अपडेट

विद्यार्थीसँग कक्षामा नै महानगरप्रमुख सिंह

- Advertisement -

तुलसी भण्डारी
वीरगन्ज
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँग कक्षा कोठामा सँगै भेटिन्छन् । शिक्षक–शिक्षिकाले उनी भएकै समयमा पनि पढाउनु पर्छ । विद्यार्थी सरह उनी कक्षा कोठामा नै भेटिन थालेको एक–दुई पटक मात्र भएको छैन । चालु वर्षको शैक्षिक सत्र सुरु भए यता उनी अनिवार्य जस्तो कक्षा १० का विद्यार्थीसँगै कक्षा कोठामा बसेको भेटिन्छन् । तर एउटै विद्यालयमा भने उनी हरेक पटक भेटिदैनन् । फरक–फरक विद्यालयको कक्षा १० कै विद्यार्थीसँग हप्तामा एक पटक भेटिनु उनको दिनचर्या जस्तै बनेको छ ।
वीरगन्ज महानगरकाका नगरप्रमुख पुनः विद्यालयमा गएर विद्यार्थीसँगै बसेर पढ्न थालेका चाही होइनन् । तथापि विद्यार्थीसँगै बेन्चमा नै बसी पूरा घण्टी कक्षा कोठामा समय विताउन थालेको भने गएको बैशाख २० गतेदेखि भएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । उनी समेत धेरै पटक नगरप्रमुख (मेयर) सिंहसँगै कक्षा कोठामा भेटिए । कक्षा कोठामा शिक्षक–शिक्षिकाले पढाएको ध्यानपूर्वक सुन्ने, सुनिसकेपछि शिक्षक र विद्यार्थीलाई पनि आवश्यक निर्देशन र सुझाव तथा हौसला दिएर फर्कने क्रमलाई मेयर सिंहले निरन्तरता दिएका छन् ।
‘म भविष्यका कर्णधार बालबालिकाको पनि अभिभावक हो’ । उनीहरुको पढाई कस्तो भइरहेको छ ? भनी मैले सुक्ष्म रुपले बुझ्न र विद्यालयको शिक्षा सुधार गर्न नयाँ कदम चालेको हुँ’ उनले भने । यो कदमलाई निरन्तरता दिनेमात्र नभई अझ अरु कक्षाहरुमा पनि बिशेष रुपले निगरानी बढाएर लाने सोचमा महानगर रहेको उनको भनाइ छ । कम जनशक्ति, बिषय शिक्षकको अभाव र शिक्षकहरुको लापर्वाही तथा विद्यार्थीको पनि हेलचेक्र्याईले सामुदायिक विद्यालयको शिक्षा अवस्था कमजोर भएको निष्कर्ष सहित त्यसलाई सुधार्न महानगरले फरक ढंगले कडाई सुरु गरेको दावी उनको छ । यो निगरानी र सुझावले राम्रो प्रतिफल दिन्छ भन्ने महानगरलाई विश्वास रहेको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णले पनि दावी गरे ।

कमजोर ट्याग हटाउन महानगर अग्रसर
मधेशको शैक्षिकस्तर कमजोर भएको प्रति नकारात्मक ढंगले अरु मानिसले भनेको सुन्दा साह्रै मन दुखेको थियो । आफू ठाउँमा पुग्दा शिक्षाको अवस्था सुधार्ने अठोट अनुसार शिक्षा तर्फ सुधारका लागि विभिन्न कदम थालिएको मेयर सिंहको दावी छ । यता वीरगन्ज महानगरले यो कदम मात्र नभई अन्य विभिन्न कार्य पनि गरिरहेको छ । ‘पूरा मधेशमा राम्रो गर्न नसकिएला, तर आफ्नो पालिका भित्रका सामुदायिक विद्यालयको पढाईस्तर उकासेरै छाड्ने अठोट छ’ महानगरको । नीति राम्रो भएर मात्र पनि हुदैन । नीति अनुसार कार्य सम्पादन पनि ठोस रुपमा निकाल्न महानगर अग्रसर भएको उसको दावी छ । पढाईको अवस्था र स्तर सुक्ष्म रुपमा बुझ्न र भूई तहबाट शिक्षाको सुधार गर्न शिक्षक विद्यार्थीलाई नै जागरुक गराउने, महानगरको सोच व्यवहारतः प्रयोग भएको जनाइएको हो । महानगरले पनि के सहयोग गर्न पर्छ ? त्यसको सहकार्यका लागि पनि विद्यालय भित्र अझ कक्षा कोठाको नै अवस्था बुझ्ने प्रयास थालनी गरिएको मेयर सिंहले बताएका छन् । बिस्तारै बिषय शिक्षकको व्यवस्थापन पनि मिलाउँदै गएका छौं, कक्षा भित्रको पढाईस्तर पनि सुधार्न आवश्यक महसुस गर्दै महानगर अभियानका साथ अगाडी बढेको छ उनले प्रष्ट पारे ।
शिक्षा सुधारका लागि महानगरको फरक कदम
शिक्षाको अवस्था सुधार्न अपनाइएका विभिन्न नीति अनुसार विद्यालयको कक्षा कोठासम्म नै महानगरको पहुँच पुग्न थालेको यो मात्र पहिलो कदम होइन । विपन्न र गरिब जनताका छोरोछोरीले अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा लिन पाउन भनी गत शैक्षिक सत्रबाट नै महानगरले वीरगन्ज महानगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट मात्र शिक्षा दिन सुरुवात गरिसकेको छ । पहिलो वर्ष भए पनि ती विद्यालयले एसईईको परिणाम अन्य विद्यालयको तुलनामा राम्रै ल्याएको तथ्य फेला परेको छ । अंग्रेजी माध्यममा मात्र पढाई गरेका विद्यालयहरु त्रिजुद्ध मा.वि. ५४ प्रतिशत, सिद्धार्थ मावि ४५ प्रतिशत, नृसिंह मा.वि.४१ प्रतिशत र माईस्थान माविले पनि ३५ प्रतिशतको हाराहारी ल्याएको तथ्याँकले देखाएको छ । बिषय शिक्षकको अभाव र स्वयम् सेवक शिक्षकको भर पछि मात्र घण्टीवाइज केही शिक्षक व्यवस्थान गरेर वीरगन्जका ४ वटा मा.वि.ले अंग्रेजी माध्यम पढाएर पनि यो परिणाम ल्याउनु सकारात्मक भएको महानगरले खुलासा गरेको छ । एसईईको समग्र जिल्लाको अवस्था भने ३६.४२ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले बताए ।
विद्यालय र शिक्षक विद्यार्थीमा सकारात्मक दवाव दिन महानगरले चालेको कदम फलदायी हुने महानगरको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेको पनि दावी छ । विद्यालयको कक्षा कोठाको पढाई नै हेर्ने र बुझ्ने प्रयासले शिक्षक विद्यार्थी दुवैलाई नैतिक दवाव सृजना भई शिक्षाकोस्तर सुधारमा बल पुग्ने उनले दावी गरे । यो भिजनको पनि अगुवा महानगरप्रमुख सिंह स्वयम् भएकोले नतिजा सकारात्मक आउने विश्वास बढेर गएको उनको भनाइ छ । विद्यालयको पढाईको सुक्ष्म जानकारी विद्यालयमा बाहिर गएर एकछिन हेरेर थाहा नहुने हुन्छ । तर पुरै घण्टी कक्षा कोठामा बसेर सुक्ष्म निगरानी गर्दा शिक्षक र विद्यार्थी दुवैमा, हामी माथि अर्को निकाय पनि छ भन्ने नैतिक दवाव थपिएको पाइएको हो । शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकारको यो कदम सह्रानीय रहेको वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखाका अर्का शिक्षा अधिकृत हरि राउतले पनि बताए ।
कार्यक्रम नै ‘विद्यार्थीसँग मेयर’


‘विद्यार्थीसँग मेयर’ कार्यक्रम नै तय गरी स्थानीय सरकारलाई आइपरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न बिशेष कदम चालिकएको वीरगन्ज महानगरले खुलासा गरेको छ । ‘यो कदम शिक्षा सुधारका लागि अनुकसरणीय कदम हुने महानगरको ठहर छ । यता महानगरले समग्र विद्यालयको शिक्षा सुधार्न तल्लो कक्षा अर्थात कक्षा ८ देखि पनि निगरानी कडा पारिसकेको छ । उनले कक्षा ८ को नीजि र सामुदायिक सबै किसिमका विद्यालयलाई एकै किसिमको प्रश्न पत्र बनाई एकै पटक परिक्षा लिई त्यसको कपी काट्ने काम चाही एकद्वार प्रणालीका रुपमा महानगर आफैले सुरुवात गरी नतिजा पनि निकालेको छ । कमजोरी कहाँ–कहाँ छ ? भनी सानो कक्षाबाट पनि विभिन्न क्रस कदम बढाइएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए ।
हरित विद्यालय अवधारणा सहित विविध कार्य
‘ग्रिन स्कूल क्लिन स्कूल’ भन्ने नारा सहित विद्यालयलाई हरित विद्यालय बनाउन हरेक विद्यालयको खाली जग्गामा अनिवार्य बिरुवा रोप्न पर्ने नीति पनि वीरगन्ज महानगरले कार्यन्वयनमा लगेको छ । वातावरण र मानव स्वासथ्य प्रति विद्यार्थीलाई सजग गराउन यो नीति अवलम्बन गरिएको भेटिएको हो । विद्यालयमा रोप्ने विरुवा भने महाननगर आफैले निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।
महानगरपालिकामा मात्र २ सय ९९ बिषय शिक्षकको आवश्यकता छ । यसको पूर्ताल गर्न पनि वीरगन्ज महानगरले क्षमता भएका प्रावि शिक्षकलाई माथिल्लो कक्षामा अवसर दिएको पाइएको हो । विद्यार्थीसँग जस्तै ‘अभिभावकसँग मेयर’ भन्ने कार्य पनि गएको असार २१ गतेबाट सुरुवात भइसकेको छ । सबै प्रकारका विद्यालय निःशुल्क गर्न पर्ने भएपछि विद्यालयको सरसफाई लगायतको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षबाट १ कक्षादेखि ५ सम्मका विद्यालयलाई ५० हजार, १ देखि ८ कक्षासम्मकालाई ७५ हजार, १ देखि १० कक्षासम्मका विद्यालयलाई १ लाख र १ देखि १२ कक्षासम्म भएका विद्यालयलाई १ लाख ५० हजार थप रकम उपलब्ध गराउने नीति वीरगन्ज महानगरले लिएको पाइएको हो ।
सुधारको पहल सकारात्मक
मधेश प्रदेशमा शिक्षाको अवस्था निकै कमजोर रहेको तथ्याँकले पनि देखाएको छ । यो वास्तविकता परिवर्तन गर्न कहीं न कहींबाट विकल्प खोजिनु पर्ने हुन्थ्यो । वीरगन्ज महानगर विकल्पको खोजीमा निकै सकृय हुन थालेको सह्रानीय कदम भएको स्थानीय बुद्धिजिबीहरुले बताए । ‘सामुदायक विद्यालयको लगानी बालुवामा पानी’ हुन नदिन शिक्षा सुधारमा वीरगन्ज महानगरको शिक्षा समिति नै सकृय भएको सुन्दा खुशी लागेको बुद्धिजिबीहरु मध्ये डा.विश्वम्भर शर्माले बताए । मधेश प्रदेशकै एक मात्र महानगरपालिका भएकोले ‘वीरगन्ज’ स्वभाविक रुपमा यो प्रदेशका १ सय ३६ पालिकाहरु मध्ये शिक्षामा नमूना पालिका बन्नै पर्छ उनले भने ।
मधेशका १ सय ३६ मध्ये एक मात्र महानगरपालिका ‘वीरगन्ज’ र सुदूर पश्चिममा अवस्थित ठोरी गाउँपालिकाले समेत शिक्षा सुधारका लागि विभिन्न नयाँ रणनीति अबलम्बन गरी कार्य सम्पादन गरिरहेको छन् । गतबर्ष ठोरी गाउँपालिकाले पनि कक्षा १ देखि कक्षा १२ सम्मका सबै प्रकारका विद्यालयलाई निःशुल्क शिक्षा दिने नीति लिएको थियो । त्यो नीति यो पटक पनि ठोरी गाउँपालिकाले बजेट नै विनियोजन गरी कार्यान्वय गरिरहेको छ । अर्को सुधारात्मक पक्ष भनेको ठोरी गाउँपालिकाले त्यहाँ भित्रका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकका छोराछोरीहरु अनिवार्य रुपमा नजिकका सामुदायिक विद्यालयहरुमा नै अध्ययन गराउनु पर्ने नीति अबलम्बन गरेको यो वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरी पारित गरिसकेको छ । यसले पनि सामुदायिक विद्यालयमा शिक्षा सुधार गर्न दवाव थपिएको पाइएको हो ।
मधेश प्रदेशकै राजधानी रहेको धनुषा जिल्लामा श्री जनता नमूना मा.वि. गिद्धावेलापटीले गएको एसईईको नतिजा मधेशकै उच्च अर्थात ६४ प्रतिशत ल्याएको छ । सो विद्यालय अवस्थित पालिकाले अझ रणनीति रुपमा शिक्षा सुधार गर्न नीतिगत कार्य गरिरहेको सो मा.वि.का प्रधानाध्यापक पवन मण्डलले बताए । धनुषाका प्रअहरु पनि अब शिक्षाको अवस्था सुधार गर्न कसरी सकिन्छ ? भनी गोलबन्द भई पालिकाको साथमा अझ जुटेर लागेको उनको भनाइ छ ।
यसरी समग्रमा हेर्ने हो भने मुलुकको पछिल्लो संरचना अनुसार तीनथरी सरकार मध्ये भूईं तहमा रहेको सरकारका रुपमा चिनिने पालिकाहरुले आफ्नो क्षेत्र भित्रको शिक्षा सुधार गर्न विभिन्न नीति अबलम्बन गरी प्रभावकारी कदम चाल्न सुरुवात गरिरहेको भेटिएको छ । मधेशको शिक्षा अवस्था पछि परेको परिवेशमा यहाँ भित्रकै पालिकाहरु मध्ये मधेश प्रदेशको सूदूरपश्चिममा पर्ने पर्साको ठोरी गाउँपालिका, मधेशको एक मात्र महानगरपालिका ‘वीरगन्ज’को शिक्षा अवस्था मधेशमा पालिकाले गरेको सकारात्मक अभ्यासको नमूना हो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ