विश्वजित भण्डारी
वीरगन्ज
‘पुरै कोटा’मा विद्यार्थी भर्ना गरी मधेश विश्वविद्यालयले स्थापनाको बर्षदिन पुगे लगत्तै अध्यापन सुरु गरेको छ । कानून संकायतर्फ वीए एलएलबीको पाँच बर्षे कोर्ष मधेश विश्वविद्यालयले बुधबारबाट अध्यापन सुरु गरेको हो ।
मधेश सरकारले जग्गा, भवन र भौतिक संरचना विना वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना ग¥यो भन्ने आरोप मत्थर नहुँदै विश्वविद्यालयले अध्यापन नै सुरु गर्नुलाई शिक्षाविदले सकारात्मक भनेका छन् । साविकको नेशनल ट्रेडिङ्गको कार्यालय परिषरलाई भाडामा लिएर मधेश विश्वविद्यालयले पहिलो पटक कानून संकायतर्फको वीए एलएलबीको पढाई सुरु गरेको मधेश विश्वविद्यालयका उपकुलपति डा . दिपक शाक्यले बताए । विश्वविद्यालयको यो संकायका लागि पहिलो पटक विद्यार्थी कोटा संख्या ११० पाएको छ । सो कोटामा पहिलो पटक नै विद्यार्थी संख्या पूरै भर्ना भएका छन् उनले भने । निकै मेहनत गर्दा मात्र यति चाँडो पढाइ सुरु गर्न सकिएको उनको तर्क छ ।
दोस्रो सिनेटले बजेट र नीति तथा कार्यक्रम समेत पास गर्दै छोटो अवधिमा मधेश विश्वविद्यालयको १० बर्षे गुरु योजना बनाई सो पनि पास गरेको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले बताए । स्थापना हुँदा धेरैले नामको मात्र विश्वविद्यालय भनी नकारात्मक टिप्पणी गरे । तर उपकुलपति डा. शाक्यको टिमले विश्वविद्यालयको लागि पर्साको बहुदरमाई नगरपालिकामा जग्गा प्राप्त गर्ने देखि विभिन्न काम गरिसकेको उनको भनाइ छ ।
मधेश विश्वविद्यालयले पूर्वाधार निर्माणका लागि जग्गा खोज्ने, प्राप्त गर्ने, वार्षिकोत्सव मनाउने, पढाइलाई सुरु गर्ने जस्ता कार्यमा ठूलो फड्को मारिसकेको रजिष्ट्रार यादवको तर्क छ । अगामी मंसिर २१ गतेबाट जनप्रशासन संकायतर्फको पनि पढाइ सुरु हुँदैछ उनले भने । जनप्रशासन संकायमा चाही कुल ५५ वटा कोटा संख्या पाइएको छ । त्यसमा २२ जना विद्यार्थी त बुधबारसम्म भर्ना नै भइसके उनले बताए । विद्यार्थी भर्नाको सूचना बाहिर गएलगत्तै विद्यार्थीको आकर्षण बढि थियो । पहिलो बर्षमा नै आवश्यकताभन्दा बढि विद्यार्थीले अध्ययनका लागि आवेदन भरे । परिक्षा प्रणाली अपनाई प्राप्त कोटाका आधारमा विद्यार्थी छनौट गरिएको विश्वविद्यालयको भनाई छ ।
मधेश विश्वविद्यालयले कानून सङ्कायतर्फ वीए एलएलवी र जनप्रशासन सङ्काय तर्फ अध्यापन गराउने भनी गएको भदौ १ देखि विद्यार्थीका लागि भर्ना आवेदन खुला गरेको थियो । भर्ना आवेदन खुला गरेपछि कानुन सङ्कायतर्फ सवा तीन सय र जनप्रशासन सङ्कायतर्फ पनि कोटाभन्दा बढि विद्यार्थीले आवेदन दिइसकेको मधेश विश्वविद्यालयले जनाएको छ ।
विद्यार्थी छनौट १०० पूर्णाङ्गको परीक्षा मार्फत
विद्यार्थीको छनौटका लागि ८० पूर्णाङ्क र २० पूर्णाङ्कको अन्तरवार्ताबाट टुंगोमा पुगिएको विश्वविद्यालयले जनाएको छ । यो विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको थियो । पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम अनुसार पठनपाठन सुरु गरिएको विश्वविद्यालयको तर्क छ ।
२०७९ वैशाख १४ गते मधेस प्रदेश सभाद्वारा मधेस विश्व विद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते यो विश्वद्यिालय स्थापना भएको थियो । यो विश्वविद्यालयमा पोलिटेक्निक, आईटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ लगायतका प्राविधिक शिक्षाका माध्यमबाट मधेशलाई शिक्षाको हवका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । गएको भदौ २२ गते पहिलो बार्षिकोत्सव भव्य रुपले मनाएको मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्व विद्यालय संगठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाइ पारित गरिसकेको रजिष्ट्रार यादवले बताएका छन् ।