spot_img

ताजा अपडेट

छठमा मध्य तराईका नदी तलाउ बेहुली झैं चिटिक्क

- Advertisement -

निर्मला भण्डारी
वीरगन्ज
भोजपुरा र मिथिला क्षेत्रको महान् पर्व छठको मुख्य दिन षष्ठी तिथीमा विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिने मध्य तराईका सबै छठ घाटका नदी तलाउ बेहुली झैं चिटिक्क पारिएका छन् । आईतबार साँझ सूर्यलाई अघ्र्य दिन भक्तजन पुग्ने मध्य तराईका सबै छठ घाटका नदी तलाउ बेहुली झैं चिटिक्क पारिएका हुन् ।
मध्य तराईको चर्चित छठघाट वीरगन्जको घडिअर्वा पोखरी परिषर सहित यहाँका मूर्ली, नगवा, रानीघाट स्थित छठ घाटका नदी तलाउ मात्र नभई यो क्षेत्रका अधिकाँश नदी तलाउ बेहुली झैं सिंगारिएका छन् । अरु समयमा मधेश भनेपछि बाहिरका मानिसले हेयको दृष्टिले हेर्ने भए पनि यो समयमा भने तराईको हरेक घर आँगन र नदी तलाउ समेत चिटिक्क पारिएका छन् ।


विगतमा भोजपुरा र मिथिला क्षेत्रको मात्र महान् पर्व मानिएको छठ पर्व अहिले यहाँ मात्र सिमित नभई पहाड र हिमाल चढ्दै नेपाली पुगेका बाहिरी मुलुकमा समेत भव्य रुपमा मनाउन थालिएको छ । छठ पर्वको महत्व बुझ्दै जाने क्रममा के पहाडी, के हिमाली कतिपय मुस्लिम समुदायका पनि केही मानिसले यो पर्वलाई बिशेष रुपले मनाएको देख्न थालिएको छ । हिन्दु धर्मको महिमा र धार्मिक आस्थाको कारण यो पर्वको ओज अझ वृहत बन्दै मुलुक भित्र र बाहिर समेत झाँगिन पुगेको भोजपुरी साहित्यका हस्ती गोपाल अस्कले बताए । पर्वकै लागि गृह नगर वीरगन्ज आइपुगेका उनले पर्वको महत्व अझ व्यापक भएकोमा खुशी व्यक्त गरे । अर्का साहित्यकार दिनेश गुप्ता समेत महान् पर्व छठ मनाउन वीरगन्ज नै आइपुगेका छन् । काठमाण्डौमा बढि समय बस्दै आएका उनी पनि सिंगो पारिवारिक वातावरणमा पर्व मनाउन यहाँ आइपुगको बताए । अस्क र गुप्ता त केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता हजारौं नेपाली धार्मिक परम्परा अनुसार यो पर्व सग्लो परिवारमा नै जम्मा भई उल्लास साथ मनाउन गाउँ घर समेत पुगेका छन् ।


खासमा यो पर्व तीन दिन अगाडीदेखि नै निष्ठापूर्वक मनाई सूर्यषष्टी अर्थात् सँझिया घाटमा अघ्र्य दिएर मनाइन्छ । छठको पहिलो दिन ब्रर्तालुहरु नहायखाय गरी छठपर्व सु–भारम्भ गर्छन् । दोस्रो दिन अर्थात शनिबार खरना विधि गरी राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठो पानीमा मिलाई भूईं शुद्ध बनाई बर्तालु उपवास बसेका छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर र दूधबाट चामलको खीर बनाई त्यो केराको पातमा राखेर छठिमातालाई प्रसाद चढाएपछि भने बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने र परिवारका अन्य सदस्यलाई पनि प्रसादका रुपमा ग्रहण गराउने चलन छ । अर्को दिन अर्था आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई ब्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान अर्थात सोमबार उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि भने यो बर्षको पनि छठ पर्व समाप्त हुदैछ । खासमा यो पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने विश्वासका साथ छठ पर्व श्रद्धापूर्वक मनाउने गरिएको छ ।


छठ पर्वको पौराणिक आधार
यो पर्व पौराणिक कालदेखि सुरुवात भएको धार्मिक ग्रन्थमा पनि उल्लेख छ । महापुराणका पाँच पाण्डवकी पत्नी दौपतीले सुरुवात गरेको छठ पर्व कलियुगसम्म आइपुग्दा अझ रौनकता वृद्धि भएको श्रद्धालु तथा भक्तजनको ठहर छ । पाँच पाण्डव वनवास गएपछि साथमा गएकी उनीहरुकी एकल पत्नी द्रौपतीले समेत अनेक कष्ट, दुःख सहनु परेपछि त्यो दुःख, कष्टबाट पार पाउन उनले विधिपूर्वक छठ गरेको धर्मका ज्ञाता स्थानीय ज्येष्ठ नागरिक नरेन्द्र तिवारीले बताए । राज्यको रजगजमा फर्कने उपाय खोज्दै उनले धोम्य ऋषिलाई कुनै व्रत विधि बताउन आग्रह गरेपछि ऋषिले सुनाएको व्रत विधि अनुसार द्रौपतीले पनि ब्रत गरेपछि सबै दुःख नाश भई पुनः सत्ताको राजपाटमा फर्किन सकेको उनले ग्रन्थमा उल्लेख भएको भन्दै बताए । द्रौपतीका जिज्ञासा समाधान गर्ने धोम्य ऋषिले बताएको व्रत विधि कलियुगसम्म आइपुग्दा झन बृहत भएको उनको भनाइ छ ।
सत्य युगमा सर्याति नामक राजाका एक हजार रानी मध्ये एउटै मात्र छोरीले एक दिन पूजा गर्न फूल टिप्न वनमा जाँदा नजिकको वनमा ध्यानमा बसेका चमन मुनिको माटोले भरिएको शरिरको मध्य भागमा आँखा चम्किरहेको देखेपछि उनले आँखाको चमक देखेर डराइ मुनिको आँखा फुटाई दिंदाको कारण पछि उनैको पत्नी हुन परेको अर्को प्रसंग पनि ग्रन्थमा रहेको धर्मका ज्ञाताहरुको तर्क छ । छोरी सुकन्याले फुटाइदिएको चमन मुनिको आँखाबाट रगतको धारा बग्न थालेपछि उनै ऋषिको पीडाको कारण देशका राजा, सिपाही, मन्त्रीहरु सबैको दिसा–पिसाब नै बन्द भएको । अनि राजाले व्याकुल भएर देशमा यस्तो अनिष्ट हुनुको कारण पत्ता लगाउन ऋषि मुनीहरुलाई सोधेको । त्यसै वनमा तपस्या गरिरहेको भार्गववंशी चमन ऋषीको आँखा छोरीले फुटाइ दिएको ऋषिमुनिले बताएको । अनि ती ऋषिको क्रोध साम्य पार्न सर्याति राजालेले सुकन्याबाट अन्जानमा भएको घटना भनी नेत्रहिन ऋषिलाई अपराध स्वीकार्दै छोरी दिएको र ती छोरीले पनि छठ पर्व गरी उनै चमन ऋषिको आँखा पनि ठिक भएको सम्म धार्मिक ग्रन्थमा उल्लेख रहेको जानकार तिवारीले विस्तृतमा बताए । पछि श्री काश्यप महाराजको यज्ञ मण्डपमा नागकन्याहरुले भगवान सूर्यको पूजा गर्दै गरेको देखिछन् । जगतको पालन पोषण गर्ने त्रिगुण रुपा, त्रिगुण प्रमात्मा ब्रम्हा, विष्णु, महेश्वर रुप सूर्य नारायणको नमस्कार गरी सूर्य नारायणले महाकष्ट हटाई मनले चिताएको फल दिनु हुनेछ भन्ने कुराले प्रख्याती पाएपछि र धोम्य ऋषिबाट उत्तम व्रतको विधि सुनेर द्रौपती र सुकन्याले पनि छठ पर्वको व्रत गरेको महिमा कलियुगसम्म झन झाँगिएको स्थानीय पण्डितहरुको पनि कथन छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास सहित गरिने यो पर्व ब्रम्हाण्डमा सूर्य दक्षिणायणतिर हुने भएकाले कन्या राशि समय पर्ने मान्यता छ । यो समयमा सूर्यको प्रकाश प्रखर तथा प्रभावकारी र मानव हितका लागि महत्वपूर्ण हुने भएको वैज्ञानिक आधार मान्यता पनि छ ।
छठमा कृषिजन्य मौलिक सामानको प्रयोग


छठपर्वको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाइ, अदुवा, उखुलगायतका खाद्यान्नलाई मानिन्छ । यो समयमा प्रयोग हुने सामग्री अर्थात बासबाट बनेका अन्य सामग्रीको प्रयोग पनि निकै हुने भएकोले छठ पर्वका समयमा यसको किनमेल ह्वात्तै बढेको छ । पवित्रताको पर्वका रुपमा मनाइने भएकोले यो पर्वको चार दिनसम्म ब्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि सामग्री चाही नखाने र निष्ठामा रही व्रत बस्ने चलन छ । पर्वको लागि सबै तयारी पूरा भइसकेको वीरगन्ज १२, मूर्लिका वडाध्यक्ष सुरेश गुप्ताले बताए ।
छठ पर्वमा नदी तलाउमा अघ्र्य दिन ब्रतालु दर्शनार्थी पुग्ने भएकोले मानिसको बढि भीड हुने ठाउँमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ