काबिल सम्वाददाता
वीरगन्ज
सामाजिक सद्भावमा खलल पु¥याउने प्रति कडा कार्वाही गर्ने लगायतका पाँच सुत्रीय निर्णय गर्दै पर्सामा सर्वदलीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वदलीय बैठकले पाँच सुत्रीय निर्णय गरेको हो ।
सामाजिक र सांस्कृतिक सद्भावमा कुनै आँच नपुगोस् भनी स्थानीय प्रशासनले वीरगन्जमा सोमबारबाट जारी गरेको कफ्र्यू ( निशेधाज्ञा ) भने मंगलबार पनि दिनभर जारी रह्यो । सोमबार साँझ ५ बजेबाट अनिश्चित कालका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा मंगलबार पनि दिनभर कायम राखिएको हो ।
गएको फागुन ३ गते बिहिबार सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा रौतहटको ईशनाथ नगरपालिकास्थित मोतिपुरमा हिन्दु र मुस्लिम दुई समूहबीच भएको विवाद र झडपको बिषय सोमबार वीरगन्जमा पनि उब्जियो । यहाँ पनि केही झडप र विवादको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले सर्वसाधारणको सुरक्षालाई मध्यनजर गरी निशेधाज्ञा लगाएको छ । समाजमा हुने सम्भावित जोखिम रोक्न र शान्ति कायम गर्न निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । स्थानीय प्रशासन ऐन २०२८ को दपा ६ ‘क’ बमोजिम कफ्र्यू आदेश दारी गरिएको उनको भनाइ छ ।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा भने सर्वसाधारणको दैनिकीलाई ख्याल गरी निशेधाज्ञा खुकुलो पारिएको थियो । त्यसपछि भने दिनभरी नै कडाईलाई निरन्तरता दिइएको छ । समाजमा कुनै अप्रिय घटना नहोस् भनी यो सतर्कता अपनाउन बाध्य भएको पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बताए । मंगलबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक पनि बस्यो । बैठकले आपसी सद्भाव अक्षुण राख्न हरेकले आ–आफ्नो ठाउँबाट साथ सहयोग गर्ने लगायत विभिन्न पाँच सुत्रीय निर्णय गरेको छ । ती निर्णयहरु मध्ये पहिलो बुँदामा ‘सयौं वर्षदेखि कायम रहेको जातजाती, भाषा, धर्म, समुदाय र सम्प्रदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रतिवद्धता गर्ने’ उल्लेख गरिएको छ ।
त्यसै गरी एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिकस्थलहरुमा नाराबाजी, जुलुश लगायत विरोधका कार्यक्रम नगर्ने नगराउने, यस किसिमका गतिविधि गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्वाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई साथ दिने निर्णय दोस्रो नम्बरमा उल्लेख छ । जिल्ला भित्र खुल्लमखुला रुपमा डिजे र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कार्वाही गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ३ नम्बर बुँदामा भनिएको छ । जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारलालाहरुले सहयोग गर्ने भनी चार नम्बर बुँदामा उल्लेख गरिएको छ । त्यसै गरी सामाजिक संजालमा कुनै पनि जात, धर्म वा सम्प्रदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानून बमोजिम कडा कार्वाही गर्ने समेत पाँच नम्बर बुँदामा जनाइएको छ ।
स्थानीय प्रशासनको कफ्र्यू आदेश पूर्वमा वीरगन्ज महानगरपालिकाको नगवा चोक (बारा जिल्ला सिमाना) पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुल अर्थात वीरगन्ज भन्सार एरिया भित्रका क्षेत्रमा लगाइएको छ । सोमबार वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन र झडपहुँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी र प्रदर्शनकारीहरु पनि केही घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।